तपाईँ सुन्दै हुनुहुन्छः

देवचुली नगरपालिकाद्वारा छाडा चौपाया व्यवस्थापन

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको कार्य सुरु गरेको हो ।

छाडा चौपायाले बाली नष्ट गरेर किसान हैरान बनेपछि देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन कार्य सुरु गरेको हो । नगरपालिका भित्र रहेका छाडा चौपायाले दैनिक जसो किसानका अन्नबाली नष्ट गरि क्षति पुर्‍याउने क्रम तीव्र बनेपछि यसको व्यवस्थापन थालिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । छाडा चौपायाले किसानलाई समस्या थपेको गुनासो आएपछि नगरबाट व्यवस्थापनको पहल थालिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

देवचुली नगरपालिकाले वडा नम्बर –१० स्थित लोकाहा नदी किनारमा छाडा चौपाया व्यवस्थापन गरेको छ । सो क्षेत्रमा तारबार गरि छाडा चौपायालाई राखिएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका छाडा चौपाया नगर तथा स्थानीयको पहलमा जम्मा गरि लोकाहामा छ । स्थानीय स्तरमा आउने विविध समस्या समाधानको पहल गर्नु नगरको उत्तरदायित्व भएकाले सोही अनुसार छाडा चौपाया व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको कार्य सुरु गरेपछि नगरका विभिन्न क्षेत्रबाट करिब एक सय गाई सङ्कलन भएको देवचुली नगरपालिका वडा नम्बर–१०, का वडा अध्यक्ष रेप्ती कुमार घर्तीले जानकारी दिनुभयो । सङ्कलन भएका गाई मध्य केही गाई नगरमा राजश्व तिरेर चितवन स्थित एक फर्मले लगेको र केही मरेको उहाँले बताउनुभयो । 

अहिले करिब ४० वटा गाई छाडा चौपाया व्यवस्थापन केन्द्रमा रहेका छन् । नगरपालिकाले गाईको आहाराका लागि पराल खरिद गर्ने गरेको छ । तारबार गरिएको क्षेत्र भित्र पानीको व्यवस्थापन समेत गरिएको छ । छाडा चौपायाको रेखदेखका लागि एकजना हेरालुको समेत व्यवस्थापन गरिएको वडा अध्यक्ष घर्तीले बताउनुभयो । 

नगरभित्रका हाल सङ्कलन भएका गाई बाहेक अन्य गाई ल्याउन नपाइने रेखदेखमा खटिनुभएका नारायण श्रेष्ठले बताउनुभयो । स्थानीयले आफै गाई छाड्ने र ल्याएर यहाँ राख्न खोज्ने हुँदा गाईको सङ्ख्या धेरै भएर व्यवस्थापन थप चुनौतीपूर्ण हुने हुँदा यसरी जथाभाबी ल्याउन रोक लगाइको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button