तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरकारबीच बलियो एकता आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरकारबीच बलियो एकता आवश्यक पर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारणसभालाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन नसक्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री  दाहालले आफूले निजी क्षेत्रको समस्या राम्ररी बुझेको भन्नुहुँदै  संकटोउन्मुख अर्थतन्त्रलाई सहज अवस्थामा ल्याउने  विषयमा  छलफल गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नयाँ संविधान निर्माणपछि आर्थिक विकास र समृद्धिमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण अर्थतन्त्रले सङ्कटको सामना गरिरहेको धारणा राख्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङघको ५७ औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस कार्यक्रम उदघाटन गर्नुहुँदै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री  दाहालले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं प्रगतिशील कार्यान्वयनका लागिसमेत आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प  नभएको बताउनुभयो  ।

प्रधानमन्त्री दाहालले वस्तु उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयको वृद्धि र मुलुकको समग्र विकासमा निजी क्षेत्रले उल्लेख्य भूमिका खेल्दै आइरहेको भन्नुहुँदै  लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका निमार्णका  निम्ति सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले कृषि अर्थतन्त्रको मूल आधार भएकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम तथा बजेटमा उत्पादन र निर्माणका क्षेत्रमा केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने बताउनुभयो । 

प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहे पनि पूर्णतः सङ्कटमुक्त भइनसकेकोले अर्थतन्त्रमा  सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको  सम्पूर्ण ध्यान अर्थतन्त्रलाई चलायमान बनाउनमा केन्द्रित रहेको भन्नुहुँदै निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

अर्थमन्त्री डा. महतले विदेशी मुद्रा सञ्चिती वृद्धि हुँदै जानु सकारात्मक भएको भन्नुहुँदै पुँजीगत खर्च बढाउने र साधारण खर्च आवश्यकताका आधारमा गर्नुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा मात्र नभई विश्व अर्थतन्त्रमा समेत गिरावट आएको अवस्थामा मुलुकको आर्थिक स्थितिमा सुधार ल्याउन निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले लोकप्रियता भन्दा पनि अर्थतन्त्रको दीर्घकालीन र अल्पकालीन  योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । 

अध्यक्ष गोल्छाले नेपाली उद्योगलाई सहुलियतमा बिजुली उपलब्ध गराउन र अर्थतन्त्रमा देखिएको विद्यमान समस्या समाधानका लागि सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button