तपाईँ सुन्दै हुनुहुन्छः

नाग्म–गमगडी सडकको पिना–मुगु खण्ड निर्माण कार्य अलपत्र

जुम्ला । पर्यटकीय गन्तव्य रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडकको पिना–मुगु खण्ड निर्माण कार्य अलपत्र अवस्थामा पुगेको छ । 

निर्माणको जिम्मा पाएको ठेकेदार नै पछिल्लो समय सम्पर्क विहीन भएपछि सडक निर्माण कार्य बीचमै अलपत्र परेको हो । 

नाग्म–गमगडी सडकको पिना–मुगु खण्ड निर्माणको ठेक्का (शङ्कर माली निर्माण सेवा)ले पाएको थियो । उक्त सडक खण्डको हालसम्म करिब ८५ प्रतिशत काम  भइसकेको छ । तर बाँकी १५ प्रतिशतको मुख्य सडक ग्राभेल, पर्खाल तथा नाला निर्माण लगायतका अन्य काम अलपत्र परेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी तथा इन्जिनियर चित्र चौलागाँईले बताउनुभयो । 

(शङ्कर माली निर्माण सेवा) ठेकेदार धन बहादुर कार्की पछिल्लो समय सम्पर्कविहीन भएपछि पिना–मुगु सडकको निर्माण कार्य अलपत्र परेको हो । 

आव २०७६/७७ बाट निर्माण सुरु भई चालु आव ०७९ पुस २५ गतेभित्र काम सक्नुपर्ने सम्झौता हो । तर निर्माण व्यवसायी ठेकेदार धनबहादुर कार्की सम्पर्क नहुँदा काम अलपत्र परेको छ ।  

इन्जिनियर चौलागाईले भन्नुभयो,“शङ्कर माली निर्माण सेवाको मुख्य ठेकेदार धनबहादुर कार्की नै सम्पर्क विहीन हुनुहुन्छ । स्थानीय पेटी ठेकेदारले काम बापत पैसा नपाएको बुझिएको छ । पिना–मुगु सम्मको २१ किलोमिटर सडकको ग्राभेल, वाल तथा नाला निर्माणको काम बाँकी नै छ । काम पुराना नभई अर्को ठेक्का लगाउने अवस्था छैन । ठेकेदार सम्पर्कमा नआउँदा समस्या भयो ।”

पिनादेखि मुगु खण्डको २१ किमी सडक निर्माणको कुल लागत ५ करोड ५० लाख रहेकोमा हालसम्म ४ करोड ९० लाख भुक्तानी लिइसकेको छ । बाँकी ६० लाख बराबरको काम ठेकेदारले अलपत्र परेको छ । 

आव २०७६÷७७ देखि निर्माण सुरु भएको उक्त खण्डको काम ठेकेदारको ढिलासुस्तीले समयमै सम्पन्न हुन नसक्दा नयाँ ठेक्का लगाउन नसकिएको इन्जिनियर चौलागाईले जानकारी दिनुभयो । 

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र विष्टले पिना–मुगु खण्डको बाँकी काम चाँडै सुरु गर्न अन्तिम ताकेता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायी ‘व्यवसायीक’ र जिम्मेवार नबन्दा जुम्लाका धेरै सडक योजना अधुरै रहेको पाइयो । पिना–मुगु खण्डको (शङ्कर माली निर्माण सेवा)लाई काम सुरु गर्न ताकेता दिएका छौँ । सम्पर्कमा छैन । जसको लक्ष्य अनुसार नाग्म–गमगडी सडकको निर्माण तथा स्तर वृद्धिको काम हुन सकेको छैन ।”

सडक डिभिजन जुम्लाको डिभिजन प्रमुखका रुपमा भर्खर सरुवा भई आउनुभएका विष्ट भन्नुहुन्छ, “ सडक पूर्वाधार निर्माण र स्तर वृद्धिको कामलाई गति दिन निर्माण व्यवसायी जिम्मेवार नभए सम्म सम्भव छैन । त्यसैले पहिलो चरणमा निर्माण व्यवसायीसँग सहजीकरण तथा परामर्श गर्ने र अन्तिमसम्म पनि नमाने कालोसूचीका सिफारिस गरेर पनि रोकिएको काम अघि बढाउने लक्ष्य छ । सबैको साथ सहयोगको खाँचो छ ।” 

पिना–मुगु सडक खण्डको शङ्कर माली निर्माण सेवालाई अधुरो काम अघि बढाउन अन्तिम ताकेता दिइएको छ । अब पनि सम्पर्कमा नआएमा सार्वजनिक सूचना निकाल्ने, बैङ्क जमानत जफत गर्ने, ठेक्का तोड्ने र कालोसूचीका लागि सिफारिस गर्ने प्रमुख विष्टले बताउनुभयो ।

९३ किमी दुरी रहेको नाग्म गमडी सडकको निर्माण तथा स्तर वृद्धिको काम ६ वटा प्याकेजमा भइरहेको छ । अन्य प्योकजका कामहरू भने भइरहेका छन् । 

जनशक्ति अभाव मुख्य चुनौती

सडक डिभिजन जुम्लाको जुम्लासहित मुगु र कालिकोट जिल्ला पनि कार्यक्षेत्रमा पर्दछ । 

तीन जिल्लाको सडक विकासको काम गर्ने डिभिजन कार्यालय अप्रयाप्त प्राविधिक जनशक्तिकै बीच चल्न बाध्य छ । 

उक्त कार्यालय अन्तर्गत १२ जना सव–इन्जिनियरको दरबन्दी रहेकोमा हाल चार जना मात्रै कार्यरत छन् । 

पाँच जना इन्जिनियरको दरबन्दी रहेकामा दुई जना हाल कार्यरत छ । कार्यरत दुई जनामध्ये एक जना इन्जिनियरको सरुवा समेत भइसकेको छ । पर्याप्त प्राविधिक जनशक्ति नभई नहुने डिभिजन कार्यालय ६ जना कर्मचारीका भरमा चल्न बाध्य छ । 

एकातिर जिम्मेवार र सबै प्रक्रिया बुझेका निर्माण व्यवसायी नहुनु र अर्कोतिर कार्यालयमा प्राविधिक जनशक्ति निकै कम हुँदा काममा कठिनाइ भइरहेको प्रमुख दीपेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार फिल्ड भिजिट तथा सुपरभिजनका लागि सवारी साधनको समेत अभाव छ । 

प्राविधिक जनशक्ति आपूर्तिका लागि पटक पटक विभागमा माग गर्दा पनि सुनुवाई हुन सकेको छैन । कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक, जुम्ला डोल्पा–मनाङ मुस्ताङ सडक, रणनीतिक सडक, निर्वाचन क्षेत्र सडकलगायत अन्य सडक योजनाको काम दुर्गत गतिमा गर्ने लक्ष्य र हुटहुट छ । तर त्यसका लागि निर्माण व्यवसायीको कार्यसम्पादनबारे सहजीकरणमा जोड दिनुपर्ने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button