जनकपुरधाममा जारी मेयर कपमा विराटनगरको शानदार जीत

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको जनकपुरधाम मेयर कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विराटनगरले सर्लाहीलाई ७७ रनले हराएर विजयी भएको छ ।
जनकपुरधामको रजौलमा निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा जारी रहेको क्रिकेट प्रतियोगितामा विराटनगरको तर्फबाट सुनिल धमलाले विष्फोटक व्याटिङ्ग तथा घातक वलिङ्ग गरेका कारणले टिमले शानदार रुपमा विजयी भएको छ ।
विराटनगरले पहिलो व्याटिङ्ग गर्दै पुरा ओभर खेल्दै ५ विकेटको क्षतिमा १५१ रनको विशाल स्कोर खडा गरेका थिए । विराटनगरका तर्फबाट सुनिल धमलाले ५६ रन बनाएका थिए । सोही टिमका फिरदोस अन्सारीले ३७ रनको अविजित पारी खेले भने सुजन थपलियाले २०, भास्कर दुब्बेले १२, मिनास थापाले १२, मुकुन्द यादवले ९ रन बनाएका थिए ।
बलिङ तर्फ सर्लाहीका सन्दीप खडका, विशाल पटेल, चक्रधर यादव र सुमन शुक्लाले १/१ विकेट लिए ।
विराटनगरबाट १५१ रनको लक्ष्य पाएको सर्लाहीका सबै व्याटस् म्यान १९.४ ओभर खेल्दै ७४ रनमै समेटिएका थिए । सर्लाहीको तर्फबाट विशाल पटेल र आतिश दासले १३ बनाए भने बाँकी खेलाडी दोहोरो अङ्कमा रन जोडन सकेनन् । बलिङ तर्फ विराटनगरका भाष्कर दुब्बेले र सुनिल धमलाले ३/३ विकेट लिएका थिए भने दिपक राज जोशीले २, फिरदोस अन्सारी र दिपेश कँडेलले १/१ विकेट लिएका थिए ।
अर्धशतकीय पारी खेलेर र ३ विकेट लिएका सुनिल धमलालाई म्यान अफ द म्याच घोषित भएका थिए । उक्त प्रतियोगितामा विजेता टिमलाई २ लाख ५१ हजार र शिल्ड र उपविजेता टिमलाई १ लाख ५१ हजार र शिल्ड प्रदान गरेर पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्