तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल प्रारम्भ

काठमाडौँ । प्रतिनिधिसभामा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल प्रारम्भ भएको छ  ।

प्रतिनिधि सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि  विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल प्रारम्भ भएको हो ।

विधेयकको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसदहरुले रेडियो नेपाल र नेपाल टेलिभिजन मात्र नभई सरकारको अनुदानमा सञ्चालित  सम्पूर्ण सार्वजनिक सञ्चार संस्थाहरूलाई एकीकृत गर्नुपर्ने धारणा राख्नुभयो । 

सांसद्हरुले सार्वजनिक प्रसारण संस्थालाई स्वायत्त संस्थाको रुपमा विकास गरी प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र आमसञ्चार नीतिका उद्देश्यलाई पुरा गर्न विधेयक ल्याइएको बताउनुभयो ।

मन्त्री शर्माले विधेयकको दफावार छलफलका क्रममा थप परिमार्जन र परिष्कृत गर्न सकिने ठाउँ भएकाले साझा  सहमतिमा अघि बढ्न सकिने धारणा राख्नुभयो । 

यस्तै बैठकमा महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/२०७९को वार्षिक प्रतिवेदन पनि पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महान्यायाधिवक्ताकाे आर्थिक वर्ष २०७८/२०७९को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।

बैठकको विशेष समयमा सत्तापक्षका सांसदहरुले बजेटमा अपूरा योजनालाई प्राथमिकता दिनुपर्ने, संसद् बैठकमा उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, किसान र कृषि क्षेत्रमा जोड दिँदै कृषिमा आत्मनिर्भर बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

प्रतिपक्ष दलका सांसदहरुले सदनमा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको, गौरवका आयोजना ठप्प रहेको, विकास खर्च हुन नसकेको, राजश्व उठ्न नसकेको, बैङ्कले मनपरी व्याज लिँदा सरकार मौन रहेको बताउनुभयो ।   

प्रतिनिधिसभाको अर्को बैठक चैत २९ गते बुधबार दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button