राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुरामा भुसालले प्रस्तुत गर्नुभएको उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो ।
राष्ट्रियसभामा उत्पत्ति भएका यी दुवै विधेयक अव सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।
यसअघि, बैठकको विशेष समय लिएर बोल्ने सांसदहरुले मुलुकको शान्ति र समृद्धिका लागि विस्तृत शान्ति सम्झौतालाई जति सक्दो चाँडो टुङ्ग्याउन सरकार गम्भीर बन्नुपर्ने, सरकार संसदीय समितिप्रति जबाफदेही बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले सरकारको अब आउने नीति तथा कार्यक्रम र बजेटले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने, कृषि उत्पादनलाई बजारसँग जोड्नुपर्ने र किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपालको कानून पहुँचवालाको नियन्त्रणमा रहेकाले समाजमा अराजकता बढेको बताउनुहुँदै सांसदहरुले मिटर ब्याजीहरुको समस्या समाधन प्रक्रिया कहाँ पुग्यो भनेर गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताउनुभयो ।
नेपालको भारत र चीन जोड्ने धार्मिक र पर्यटकीय रूपले प्रसिद्ध सेती लोकमार्ग र महाकाली लोकमार्ग निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक चैत्र ३० गते बिहीबार १ बजेर १ मिनेटमा बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्