तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमाथि छलफल सुरु

काठमाडौँ । राष्ट्रियसभाको आज बैठकमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६ माथि छलफल सुरु भएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरु जितेन्द्र नारायणदेव डा.विमला राई पौड्याल लगायतले आयोगको अधिकार क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभयो ।

यसअघि, विशेष समय लिएर बोल्दै सांसदहरु महेशकुमार महरा, दीलकुमारी रावल, जितेन्द्रनारायण देव, उदयबहादुर बोहोरा, भुवनबहादुर सुनुवार, डा.विमला राई पौड्याल, खिमलाल देवकोटा, रामचन्द्र राई, दुर्गा गुरुङ, तारामान स्वाँरले मुलुकको शान्ति र समृद्धिका लागि विस्तृत शान्ति सम्झौतालाई जति सक्दो चाँडो टुंग्याउन सरकार गम्भीर बन्नुपर्ने, सरकार संसदीय समितिप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले सरकारको नीति तथा कार्यक्रम र बजेटले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने, कृषि उत्पादनलाई बजारसँग जोड्नुपर्ने र किसानलाई सरकारले समयमै मल उपलव्ध गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी, सांसद ढाकाप्रसाद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच भएको दुई करोड लेनदेनको विषयलाई सरकारले छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपालको कानून पहुँचवालाको नियन्त्रणमा रहेकाले समाजमा अराजकता बढेको बताउनुहुँदै सांसदहरुले मिटर ब्याजीहरुको समस्या समाधन प्रक्रिया कहाँ पुग्यो भनेर गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने बताउनुभयो ।

नेपालको भारत र चीन जोड्ने धामिर्क र पर्यटकीय रुपले प्रसिद्ध सेती लोकमार्ग र महाकाली लोकमार्ग निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button