तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको पर्खाइमा चर्नावती त्रिवेणी धाम

भक्तपुर ।  प्राचीन,ऐतिहासिक तथा पौराणिक स्थल दोलखा जिल्लाको शैलुङ्ग गाउँपालिका वडा नं.७ मा अवस्थित चर्नावती त्रिवेणी धाममा आगामी जेठमा बृहत् श्रीदेवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । चर्नावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघले राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

महायज्ञ व्यवस्थापन मुल समारोह समितिका संयोजक तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले धामको प्रचारप्रसार गर्न तथा तीर्थाटन क्षेत्रको रुपमा संरक्षण र विकास गर्न जेठ ७ गतेदेखि १५ गतेसम्म नवाह सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

संयोजक श्रेष्ठले नवाह ज्ञान महायज्ञमा प्रतिष्ठित संस्कृतिविद् प्रा.डा.कान्ता भट्टराईले अमृतमय कथाका साथ सो क्षेत्रको धार्मिक एवं पौराणिक विवेचना गर्नुहुने बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले तामाकोशी नदी किनारमा अवस्थित चर्नावती धाम रहेको ठाउँमा त्रेता युगमा राम– सिताको पाइला परेको विश्वास रहेको बताउनुभयो । चर्नावती धाममा तामाकोशी, गोपिखोला र चरङ्गेको त्रिवेणी रहेको बताउँदै उहाँले पवित्र भूमिको प्रचारप्रसार तथा संरक्षण र विकासमा महायज्ञले थप टेवा पुग्ने बताउनु भयो ।  

कार्यक्रममा पुर्वमन्त्री समेत रहनुभएकी विदुषी प्रा.डा.कान्ता भट्टराईले नेपाल देवभूमि र ऋषि भूमि  रहेको बताउँदै नेपालमा जन्म भएकोमा सबैले गर्व पर्नुपर्ने बताउनुभयो । चर्नावती धामलाई कासी– गया र देवघाट भन्दा पवित्र स्थल मानिन्छ भन्दै उहाँले यसबारे धार्मिक ग्रन्थमा समेत उल्लेख भएको बताउनुभयो ।

कार्यक्रममा बिश्वहिन्दु महासङ्घका अध्यक्ष अस्मिता भण्डारी,पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा,प्रदेश सांसद भरतबहादुर केसी,पूर्व राजदूत डा.विष्णुहरि नेपाल,पूर्व जिविस सभापति द्वय रुद्रबहादुर खड्का र लालकुमार केसी,मुल समारोह समितिका सदस्य सचिव तथा शैलुङ्ग गाउँपालिकाका निवर्तमान अध्यक्ष भरत दुलाल लगायतले सो क्षेत्रको महत्त्वबारे चर्चा गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति तथा प्रा.डा.जगमान गुरुङ दोलखा जिल्ला महान् तपस्वीहरूको ध्यान भूमि , ज्ञानभूमि र तपोभूमि रहेको बताउनुहुन्छ ।धार्मिक ग्रन्थमा समेत उल्लेखित यस धाम प्रसिद्ध कालिन्चोक देवीको मन्दिरको जल कुण्ड हुँदै चरणमा बगेको खोला भएकाले चरणावती नाम भएको उहाँको भनाई छ ।

कार्यक्रममा दोलखामा क्रियाशील विभिन्न राजनीतिक दलका नेता, विभिन्न पेशा र व्यवसायमा संलग्न दिग्गज व्यवसायी,बुद्धिजीवी,पत्रकार लगायत अगुवा व्यक्तिहरूको सहभागिता रहेको थियो ।

हाल चर्नावती त्रिवेणी धाममा झण्डै तीन करोड रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सेवा केन्द्र बनेको छ ।४० रोपनी खाली पर्ती जग्गामा बनेको केन्द्रको सञ्चालन नयाँ आर्थिक वर्षबाट सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनु भयो ।

किंवदन्ती अनुसार वनवासको समय राम– सिता चर्नावती धाममा आएका थिए । चर्नावती धामलाई कासी– गया र देवघाट भन्दा पवित्र स्थल मानिन्छ । रामले वनवासका क्रममा दिबगंत हुनुभएका पिता दशरथको यही श्राद्ध गर्नुभएको संस्कृतिविद्को भनाई छ ।त्रिवेणीमा सिताले स्नान गरेको विश्वास समेत रहेको स्थानीय समाज सुधारक ,शिक्षासेवी तथा सहकारी कर्मी रामकृष्ण बुढाथोकी बताउनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button