बसको ठक्करबाट घाइते कुँवरको मृत्यु, आफन्त आन्दोलित
अछाम । बसको ठक्करबाट घाइते अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्देश्वरका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ ।
कुँवरको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । उनीहरूले साँफेबगरमा टायर बालेर सडक बन्द गरेका छन्। पीडित पक्षले सुदूरपश्चिम बस व्यवसायी समितिका काउन्टरमा समेत तोडफोड गरेका छन् ।
गत चैत्र १९ गते सुदूरपश्चिम यातायात प्रालिको सु प्र प ३१५४ नम्बरको बसले हेमराज सवार ८५८४ नम्बरको मोटरसाइकललाई साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिँदा उनी घाइते भएका थिए ।
अछामको वयालपाटा अस्पतालमा सामान्य उपचारपछि उनको वेष्टर्न हस्पिटल नेपालगन्जमा खुट्टाको अप्रेसन गरिएको थियो । अप्रेसनपछि होस नआएका कुँवरलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । शुक्रबार राति नै उनको मृत्यु भएको दाजु कृष्ण कुँवरले बताउनुभयो ।
दुर्घटनामा गाडी चालक पनि घाइते भएका थिए । गाडी चालकलाई कारबाही तथा मृतकका श्रीमती र दुई छोरीको लालन पालनको जिम्मा लिनुपर्ने मृतकका काका शैलेन्द्र कुँवरले बताउनुभयो ।
गाडी चालक र गाडी धनी अहिलेसम्म सम्पर्कमा नआएको आफन्तले बताएका छन् । पीडित पक्षका मागहरू पुरा नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने मृतकका आफन्तले बताएका छन् । उपचारका क्रममा नेपालगन्जमा चिकित्सकहरूले लापरबाही गरेको र बस मालिकसँग मिलेमतो गरेको आफन्तको आरोप लगाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्