‘सहकारीले नेपालको आर्थिक विकाससँगै नेतृत्व विकासमा समेत सहयोग गरेको छ’
काठमाडौँ । काठमाडौँमा जारी तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरूले सहकारीले नेपालको आर्थिक विकाससँगै नेतृत्व विकासमा समेत सहयोग गरेको बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन(शुक्रबार)को पहिलो छलफलमा विभिन्न मुलुकका प्रतिनिधिहरूले सहकारीको समान सहकार्य विषयमा आफ्नो प्रस्तुती दिँदै त्यस्तो कुरामा जोड दिनुभएको हो ।
छलफलको सहजीकरण गर्दै पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीलाई नियमन गर्ने सहकारीको छुट्टै ऐन कानुनको आवश्यक भएको बताउनुभयो । उहाँले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने भएकाले छुट्टै निकाय स्थापना गर्न सुझाव दिनुभयो ।
अष्ट्रेलियाबाट सहभागी बिजनेस काउन्सिल अफ कोअपरेटिभ म्युचियलका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकाससँगै देशको जिडीपीमा समेत सहकारीको ठुलो योगदान रहेको बताउनुभयो ।
भारतबाट प्रतिनिधित्व गरेका आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीमा महिलाको सहभागिताले मुलुकको आर्थिक विकास समेतमा सहायोग पुगेको बताउनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रूपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । सहकारी अर्थतन्त्रको बलियो खम्बा भएको भन्दै सचिव रेग्मीले सुखी नेपाल समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण टेवा पुगेको बताउनुभयो ।
महासम्मेलन चैत्र २५ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम रहेको छ । महासम्मेलनमा नेपालका ७० जिल्ला सहितका करिब १ हजार जनाको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्