राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०७८÷२०७९ प्रतिनिधिसभामा पेश भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८÷२०७९ सभासमक्ष पेश गर्नुभयो ।
बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०७८ पेश गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७८ सभासमक्ष पेश गर्नुभयो ।
विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले अभिलेख मुलुकको महत्वपूर्ण दस्ताबेज भएकाले विगतमा भएका कमीकमजोरीलाई सुधार गरी समयानुकूल बनाउनुपर्ने धारणा राख्नुभयो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विधेयक माथि हुने दफावार छलफलले विधेयकलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि विशेष समयमा बोल्दै सांसदहरुले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, सेवा प्रवाहलाई सरल र जनमुखी बनाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्नुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक चैत्र २७ गते सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्