राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक जारी हुँदैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक जारी नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री शर्माले दूरसञ्चार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफु दृढ रहेको बताउनुभयो ।
मन्त्री शर्माले विधेयकका सम्बन्धमा सरोकारवालाको व्यापक सहभागिता गराई विगतका कानुनमा टेकेर ऐन जारी गरिने भएकाले आशङ्का नगर्न आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री शर्माले दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ र सबैको पहुँचमा पुर्याउन सरकार लागिपरेको बताउनुभयो ।
उहाँले २५ वर्षपछि ऐनसेल नेपाल सरकारको मातहत आउने कुरा हटाउने भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो ।
बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले मिटर व्याज पीडितको समस्याको समाधान, बढ्दो महँगी नियन्त्रण, सङ्घीय निजामती सेवा ऐन, आमाको नाममा नागरिकता दिनुपर्ने विषय, विपत्जन्य घटनाका पीडितलाई संरक्षण र क्षतिपूर्ति दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्