तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भियतनामसँग पराजित

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो खेलमा बलियो भियतनामसँग पराजित भएको छ ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो । पहिलो हाफमा तीन गोल गरेको भियतनामले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

भियतनामका लागि कप्तान हुन्ह न्हुले दुई गोल गर्नुभयो । फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल थप्नुभयो । नेपालका लागि सावित्रा भण्डारीले सान्त्वना गोल फर्काउनुभयो ।

पेरिस ओलम्पिकको एसिया छनोटको पहिलो चरणको खेल नेपालमा भएको हो । समूह ‘सी’ अन्तर्गत नेपाल र भियतनामबीचको दोस्रो खेल शनिबार हुनेछ । फिफा वरीयतामा माथि रहेको भियतनामसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गरेको हो । वरीयतामा भियतनाम ३३औं र नेपाल एक सयौं स्थानमा छ ।

शारिरिक रुपमा बलियो टोली भियतनामको तुलनामा नेपालको रक्षा र मध्यपंक्तिको प्रदर्शन फितलो बन्यो । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको नेपालका लागि सावित्राले वान भेर्सेस वानको अवस्थामा उत्कृष्ट गोल गर्दै नेपालको इज्जत जोगाउनुभयो । सावित्रा अधिकांश समय विपक्षी रक्षकको नियन्त्रणमा रहनुभएको थियो ।

समूह ‘सी’ को छनोटमा यसअघि समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले अन्तिममा नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा भएको हो । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button