तपाईँ सुन्दै हुनुहुन्छः

विचार मिल्ने दलहरूसँग सहकार्य र एकताका लागि आफ्नो दल तयार छ : अध्यक्ष नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने दलहरूसँग सहकार्य र एकताका लागि आफ्नो दल तयार रहेको बताउनुभएको छ । 

एकिकृत समाजवादीको प्रचार विभागले आज काठमाडौँमा गरेको सम्पादकहरू सँगको अन्तरक्रियामा अध्यक्ष नेपालले विचार मिल्ने दलहरू सँग मिलेर जाने कुरा कहिल्यै अस्वीकार नगरेको बताउनुभयो । 

अध्यक्ष नेपालले आफ्नो दल संविधानको रक्षा र सुशासनको पक्षमा विचार मिल्ने सबै दलहरू सँग सहकार्य र एकताका लागि तयार रहेको तर कुनै अर्को दलमा विलय हुन भने नसक्ने बताउनुभयो ।  

अध्यक्ष नेपालले जनतामा विकास र सुशासनको अनुभूति हुनेगरी काम गर्न नसके व्यवस्था माथि नै प्रश्न उठ्न सक्नेतर्फ दलहरू सचेत हुनुपर्ने पनि बताउनुभयो । 

उहाँले सरकारले विभिन्न मन्त्रालय, विभाग र संस्थानहरूका विकृति र त्यसका कारणहरूको खोजी गरी समस्या हल पहल गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले राजनीतिक परिवर्तन भइसकेपछि पछाडि फर्कने ठाउँ नरहने उल्लेख गर्नुहुँदै अहिलेको संविधान र गणतन्त्र माथि प्रश्न उठाउनेको उद्देश्य पुरा हुन नसक्ने पनि बताउनुभयो । 

उहाँले हिजो एकपटक असफल भइसकेको व्यवस्थाको वकालत गर्नु र परिक्षण भैसकेका व्यक्तिहरूले अहिलेको व्यवस्थामाथि प्रश्न उठाउनु जायज नहुने धारणा राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button