तपाईँ सुन्दै हुनुहुन्छः

मन्थलीमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

मन्थली । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७९ अन्तर्गत आज दोलखा, रामेछाप र सिन्धुलीमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ ।

श्री नं ९ बाहिनी अड्डाअन्तर्गत सम्पन्न सम्मेलनको मूल समारोह स्थल रामेछापको मन्थलीमा प्रमुख अतिथिका रुपमा प्रधानसेनापति प्रभुराम शर्माले सम्बोधन गर्नुभएको थियो । दोलखाको चरिकोट र सिन्धुलीको माझीटारमा श्री मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज केसी र श्री नं २७ बाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङ कार्यक्रममा अतिथि हुनुहुन्थ्यो ।

मूल समारोह स्थलमा दोलखा जिल्ला निवासी ९४ वर्षीय मानार्थ उपसेनानी कटकबहादुर तामाङ (अ प्रा) र स्व सिपाही रत्न बहादुर खड्का (अ प्रा) की श्रीमती सिन्धुली जिल्ला निवासी ९८ वर्षीया एकल महिला लीलामाया खड्कालाई सम्मान गरिएको थियो ।

यसैगरी सर्वोत्कृष्ट लघु उद्यमी/व्यवसायी दुई जनालाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा चार वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका पाँच अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त पाँच जनालाई ह्विलचियर तथा बैसाखी र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिलाई चेक वितरण गरिएको थियो ।

यस्तै, चरिकोटस्थित समारोह स्थलमा दोलखा जिल्ला निवासी ९६ वर्षीय हुद्धा चन्द्रबहादुर कार्की (अ प्रा) र स्व अमल्दार रङ्गध्वज कार्की (अ प्रा) की श्रीमती ९४ वर्षीया एकल महिला मानकुमारी कार्कीलाई सम्मान गरिएको थियो ।

साथै फरक क्षमता भएका तथा अशक्त दुई जनालाई ह्विलचियर तथा बैसाखी वितरण गरिएको थियो । त्यसैगरी, सिन्धुलीको माझीटारस्थित समारोह स्थलमा फरक क्षमता भएका तथा अशक्त तीन जनालाई ह्विलचियर तथा बैसाखी वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले समापन  मन्तव्य राख्नुहुँदै हरेक वर्ष आयोजना हुने यस किसिमको सम्मेलन कल्याणकारी गतिविधिको पुनरावलोकनका लागि सहयोगी हुने बताउनुभयो । कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथी वृन्द तथा अधिकृत, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ प्रा), जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारका साथै सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

सम्मेलनको अवसरमा तीन वटै समारोह स्थलमा सैनिक मेडिकल टोलीद्वारा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्योपचार सेवा प्रदान गरिएको थियो । योसँगै यस वर्षको भूपू सैनिक सम्मेलनका कार्यक्रम सम्पन्न भएका निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button