सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय र एपिएफकी पुष्पालाई
झापा । झापाको बिर्तामोडमा आज सम्पन्न सहारा हाफ म्याराथनको उपाधि आर्मीका सञ्जय श्रेष्ठ र एपिएफकी पुष्पा भण्डारीले जित्नुभएको छ ।

म्याराथनमा नेपाल आर्मीका श्रेष्ठ निर्धारित दूरी १ घण्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बन्नुभएको हो भने सशस्त्र प्रहरी बल (एपिएफ) नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बन्नुभएको हो ।
उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
त्यस्तै, पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोेले १ घण्टा ७ मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान र आर्मीका मोहनदेव जोशीले १ घण्टा ७ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । महिलातर्फ नेपाल प्रहरीकी रेखा बिष्ट निर्धारित दूरी १ घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरीले निर्धारित दूरी १ घण्टा २९ मिनेट ३० सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो ।

दोस्रो भएका खेलाडीले ३१ हजार र तेस्रो भएका खेलाडीले २१ हजार नगद प्राप्त गर्नुभएको प्रतियोगिताका संयोजक भेषराज भण्डारीले जानकारी दिनुभयो ।
पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का चौथो, हरि रिमाल पाँचौँ, देवराज बस्नेत छैटौँ, प्रेमबहादुर बस्नेत, सातौँ, पाँचथरका दिपक सुहाङ आठौँ, धरानका प्रशान्त तामाङ नवौँ र आर्मीका जितेन्द्र दनुवार दशौँ हुनुभयो भने महिलातर्फ सशस्त्र प्रहरीकी सीमा चौधरी चौथो, ताप्लेजुङकी सम्पालुङ शेर्पा पाँचौँ, धरानकी कल्पना राई छैटौँ, आर्मीकी पनिशा गुरुङ सातौँ, धरानकी जमुना गुरुङ आठौँ, आर्मीकी अनिता रेग्मी नवौँ र आर्मीकै शकुन्तला विक दशौँ हुनुभयो ।
चौथोदेखि दशौँसम्म हुने पुरुष तथा महिला धावकले सान्त्वना पुरस्कार स्वरूप नगद पाँच हजार र प्रमाणपत्र पाउनुभयो ।
प्रतियोगितामा महिला तथा पुरुष गरी ५३४ जना धावकको सहभागिता थियो ।
सोही अवसरमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बर कुँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मान गरिएको आयोजक सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्