तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीले नेतालाई कुटेको आरोपमा जसपाको विरोध प्रदर्शन

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले हातपात गरी टाउको फुटालेको आरोपमा जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनका कारण राजविराजको अवस्था तनावग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपिट गरी टाउको फुटाएको भन्दै जसपाका कार्यकर्ताहरू विरोधमा उत्रिएका छन् ।

यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताउनुभयो । साथै यसबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने थापाले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए ।

हाल थापामगर प्रहरीको नियन्त्रणमा रहेको पनि डिएसपी सिंहले बताए । अध्यक्ष यादवले भने आफूलाई थापामगरले पहिले अपशब्द प्रयोग गरेको र पछि हातपात गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button