तपाईँ सुन्दै हुनुहुन्छः

नवप्रवर्तन साझेदारी कोषबाट सूर्योदयमा निर्माणाधीन परियोजनाको अनुगमनमा मन्त्री मोदी

इलाम । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (उनिकउ) अन्तर्गत कोशी प्रदेशस्थित प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईसँगको सहकार्यमार्फत कार्यान्वयन भइरहेको परियोजनाको अनुगमन गर्नुभएको छ ।

मङ्गलवार इलामको सूर्योदय नगरपालिकामा प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई र नगरपालिकाबीच नवप्रवर्तन साझेदारी कोषबाट कार्यान्वयन भइरहेको परियोजनाको मन्त्री मोदीले अनुगमन गर्नुभएको हो । 

मन्त्री मोदीले सूर्योदय नगरपालिकास्थित् निर्माणाधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ ट्रयाकअन्तर्गत् वडा नम्बर ६ स्थित कन्याम डुँडेगैरा, कन्याम भन्ज्याङको पर्यटकीयस्थल, वडा नम्बर ०८ स्थित मानेडाँडामा निर्माणाधीन सिसाको पुलको अनुगमन गर्नुभएको हा । अनुगमनकै क्रममा मन्त्री मोदीले वडा नम्बर ८ स्थित सामुदायिक होमस्टे निर्माणको सम्भाव्यता अध्ययनको सन्दर्भमा स्थानीयसँग अन्तरक्रिया समेत गर्नुभयो । 

१० करोड ८१ लाखको कुल लागत साझेदारीमा निर्माणाधीन कन्यामको डुँडेगैरा–पुर्णेडाँडा साइक्लिङ ट्रयाक निर्माणसँगै स्थानीयको आर्थिक जीवनस्तर उकास्ने र लोपोन्मुख लेप्चा जनजातिको ऐतिहासिक र सांस्कृतिक पक्षहरूको संरक्षणको लक्ष्य परियोजनाले राखेको छ ।

नगरपालिकाको १४ मध्ये ६ वटा वडामा यो परियोजना अन्तर्गत काम भइरहेको छ । अनुगमनको क्रममा मन्त्री मोदीले निर्माणाधीन परियोजनाका कामहरू समयमै सम्पन्न गर्न निर्देशन दिए । कामको गुणस्तरीयताको नियमित रुपमा रुपमा अनुगमन गर्न पनि मातहतका कार्यालय प्रमुखलाई मन्त्री मोदीले निर्देशन दिनुभयो । 

यस परियोजना अन्तर्गत कोशी प्रदेशमा १० वटा परियोजना सञ्चालन भइरहेको छ । यस परियोजना अन्तर्गत देशभर ५७ वटा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटाले जानकारी गराउनुभयो । 

अनुगमनमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटा, प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई, मुख्यमन्त्री कार्यालय, कोशी प्रदेशका टोली प्रमुख प्रणय शर्मा, प्रदेश सुशासन केन्द्र, झापाका टोली प्रमुख अनिता गुरागाईँ, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, १० नम्बर वडाका वडाध्यक्ष पेमा उगेन लामा, आइपिएफ फोकल पर्सन सिर्जन गदाललगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button