तपाईँ सुन्दै हुनुहुन्छः

‘बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकता’

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् स्वदेशमा खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आज आयोजना गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताउनुभयो ।

जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रुख कटानमा देखिएका समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्व वनमन्त्री समेत रहनुभएका मन्त्री बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिलासुस्ती रोक्न आफू सक्रियताका साथ लाग्ने बताउनुभयो ।

उहाँले सार्वजनिक संस्थामध्ये प्राधिकरणले देशमा सकारात्मक मानक स्थापना गरेको बताउनुभयो । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका मन्त्री बस्नेतले स्थापित सकारात्मक मानकलाई अभिवृद्धिका लागि थप भूमिका निर्वाह गर्न जबाफदेही बन्न र नयाँ सम्भावनालाई उद्घाटित गर्दै अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आन्तरिक रुपमा विद्युत् खपत बढाउन प्रसारण तथा वितरण प्रणालीका संरचनाको सुधार तथा विस्तार, रणनीतिक रूपका ठूला जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विद्युत् सेवा विस्तारमा जोड दिइनुपर्ने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको विस्तृत विवरण प्रस्तुत गर्दै वर्षा यामको विद्युत् व्यवस्थापन अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो ।

उहाँले यस वर्षको वर्षायाममा आन्तरिक रुपमा खपत गरी बढी भएको एक हजारदेखि एक हजार दुई सय मेगावाटसम्म विद्युत् निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । ऊर्जा क्षेत्रले अनुभवी मन्त्री पाएको उल्लेख गर्दै घिसिङले वन क्षेत्रको समस्या समाधान, शान्ति सुरक्षा प्रबन्ध लगायतमा सहजीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button