भद्रपुरमा ६३४ सन्थाल परिवारको स्वास्थ्य बिमा
झापा । लोपोन्मुख सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६ सय बढी सन्थाल परिवारको स्वास्थ्य बिमा गरिदिएको छ ।

विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु हुने गरी नगर प्रमुखसँग स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत नगरपालिकाले यस वर्ष ६३४ परिवारको स्वास्थ्य बिमा गरिदिएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । यसबाट सो समुदायका २५२२ जना लाभान्वित हुनेछन् ।
सन्थाल समुदायलाई स्वास्थ्य बिमा गरिदिएको बिमा दाबी भुक्तानी बापतको रकम बराबरको चेक आज नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमबीच नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाकी प्रमुख सुनिता आचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । सन्थाल समुदायको स्वास्थ्य बिमाका लागि नगरपालिकाले २२ लाख उन्नाइस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर वेस्रा, केन्द्रीय सचिव कुन्दन मुर्मु, झापा जिल्ला अध्यक्ष लखन हेमरम लगायत सो समुदायका अगुवा व्यक्तित्वहरूको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्