तपाईँ सुन्दै हुनुहुन्छः

महिलाको समान पहुँच र प्रतिनिधित्वमा जोड

सुनसरी । सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रमका सहभागीहरूले महिलाको समान पहुँच र प्रतिनिधित्वमा जोड दिएका छन् ।

ओरेक नेपालको ३२ औँ वार्षिक उत्सव कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यको पहुँच र नेतृत्वमा महिलाको समान पहुँच आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी दुहबी नगरपालिकाका उपप्रमुख मेनुका खतिवडाले राज्यको संयन्त्रमा महिलाहरूको सहभागिता बढेको भए पनि अर्थपूर्ण सहभागिताको खाँचो रहेको बताउनुभयो ।

इनरुवाका पूर्व उपप्रमुख जमुना गौतम पोखरेलले महिलाहरू आफैँ जागरूक हुनुपर्ने र पुरुषहरूले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मेघराज न्यौपानेले महिलाहरूले पाएको जिम्मेवारी र भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएकाले थप पहुँचका लागि सङ्घर्ष र दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।

मानव अधिकार सञ्जालका अध्यक्ष रमेश भट्टराईले सहर केन्द्रित कार्यक्रमलाई गाउँ केन्द्रित गरेर महिला तथा बालबालिकाको क्षेत्रमा प्रभावकारी काम गर्न आग्रह गर्दै त्यसका लागि आफूहरू पनि हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

ओरेक सुनसरीकी विमला घिमिरेको अध्यक्षता एवं जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button