प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनुअघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो ।
छलफलका क्रममा सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य लेखकले सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।
जवाफको क्रममा समिति सदस्य लेखकले समावेश गर्न आवश्यक केही संशोधनहरूलाई मस्यौदामा स्वीकार गरिएको सभालाई जानकारी गराउनुभएको थियो ।
त्यस्तै, प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्