‘नेपालमा लोकतन्त्र बलियो बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण’
जनकपुरधाम । नेपालका लागि अमेरिकी राजदूत डिन थोम्सनले लोकतन्त्रलाई बलियो बनाउन तथा जनतालाई नजिकबाट सेवा गर्नमा नेपालको स्थानीय निकाय सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

अमेरिकी राजदूत थोम्सनले जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, वडाध्यक्षहरुसंग आज जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा भेटघाट गर्दै लोकतन्त्रको हरेक गतिविधिमा अमेरिकाको साथ र सहयोग रहने बताउनुभयो ।
राजदूत थोम्सनले अमेरिकी राष्ट्रपतिले नेपालको लोकतन्त्रको सुदृढीकरण र विकासमा साथ दिने प्रतिबद्धता पटक पटक गर्दै आउनुभएको बताउँदै स्थानीय तहले जनताको सेवा प्रदान गर्ने सबैभन्दा नजिकको सरकार भएको र यसले लोकतन्त्र बलियो बन्ने बताउनुभयो ।
कार्यक्रममा जनकपुरधामका उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिकाले गरेको कामकाज तथा जनकपुरधामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व, चाडपर्व र उत्सवको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्न कुमार शशीले जनकपुरधाम उपमहानगरपालिकाको भौगोलिक अवस्था, जनसङ्ख्या, सेवाको अवस्था तथा ऐतिहासिक पृष्ठभूमिका विषयमा जानकारी दिनुभएको थियो ।
भेटघाटमा जनकपुरधाम उपमहानगरपालिकाको २५ वडामध्ये अधिकांश वडाका अध्यक्षहरू सहभागी रहनुभएको थियो । त्यस अवसरमा अमेरिकी विकास नियोगका नेपालस्थित प्रमुख सेफिडिला क्यान्साद पनि उपस्थित हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्