असिना र पानीका कारण फलफूल तथा तरकारी खेती नष्ट
बैतडी । बुधवार र बिहीबार परेको असिना र पानीका कारण बैतडी जिल्लाको पाटन नगरपालिका र पुर्चौँडी नगरपालिकामा लगाइएको फलफूल तथा तरकारी खेती नष्ट भएको छ ।
दुई घण्टासम्म परेको असिना र पानीले पाटन नगरपालिकाको वडा नं ८, ९ र १० तथा पुर्चौँडी नगरपालिकाको ६, ७ र ८ नं. वडामा लगाइएको तरकारी खेती तथा फलफूल खेतीमा क्षति पुगेको हो ।
आफूले २५ रोपनी जग्गामा आलुखेती र ५ रोपनी जग्गामा हिउँदे फलफूलका बिरुवा रोपण गरे पनि फूल फुल्ने बेलामा असिना पर्दा उत्पादनमा ह्रास आएको पाटन नगरपालिका वडा नं. ८ धारीका अगुवा कृषक प्रजापति महराले बताउनुभयो ।
उहाँ जस्ता दर्जनौँ कृषकहरूले अन्नबालीको सट्टा तरकारी खेतीबाट गर्जो टार्दै आएता पनि फल लाग्ने बेलामा असिनाका कारण आलुखेती पुरै नष्ट भएको छ ।
पुर्चौँडी नगरपालिकाको वडा नंं. ६, ७ र ८ मा पनि असिना र पानीका कारण अन्नबाली तथा तरकारी खेती नष्ट हुँदा कृषकहरूमा निराशा छाएको स्थानीय लाल बहादुर बम बताउनुहुन्छ ।
यस बर्ष हिउँदमा पानी नपरी खडेरी पर्दा गहुँ बाली नउम्रे पनि तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका दर्जनौँ कृषकहरूको तरकारी खेती नष्ट भएकाले स्थानीय तहसँग क्षतिपूर्तिका लागि माग गरिएको भुमिराजका जगी साँउदलेल बताउनुभयो ।
बैतडी जिल्लाको कुल खेती गरिएको जमिन २५ हजार ७ सय हेक्टर मध्ये ७ हजार हेक्टरमा आलुखेती र ४ हजार ५ सय हेक्टरमा फलफूल खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्