तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार चौधरीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारवाहीको माग

बर्दिबास । महोत्तरीमा पत्रकार नवीन चौधरीमाथि साङ्घातिक आक्रमण भएको छ । बुधवार अपराह्नको समयमा होलीको समाचार सङ्कलनका लागि जलेश्वर नगरपालिका–५ चौरीया पुगेका पत्रकार चौधरीमाथि आक्रमण भएको हो ।

अज्ञात समूहको बियरको बोतल प्रहारबाट गम्भीर घाइते भएका पत्रकार चौधरीको जनकपुरधामस्थित जानकी हेल्थ केयरको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवापुर थाना ठेगाना भएका १८ वर्षीय संजित कुमार मण्डल रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जनाउनुभयो । 

यता पत्रकार सम्बद्ध संघसस्थाहरुले उक्त घटनाको निन्दा गरेका छन् । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा, नेपाल प्रेस युनियन महोत्तरीलगायतका संघसस्थाहरुले समाचार सङ्कलनमा खटिएका चौधरीलाई अज्ञात समूहले नियन्त्रणमा लिई निर्घात कुटपिट र बियरका बोतलले टाउकोमा प्रहार गरी मरणासन्न अवस्थामा पुर्‍याएको भन्दै घटनाको घोर भर्त्सना गरेका छन् ।

बिहीबार महासङ्घको महोत्तरी शाखा सचिव राजकरण महतोले विज्ञप्ति जारी गर्नुहुँदै पत्रकार चौधरीमाथि साङ्घातिक आक्रमण गर्ने समूहलाई यथाशीघ्र पक्राउ गर्न माग गर्नुभएको छ ।

घटनाले स्वतन्त्र एव निर्भिक पत्रकारिता र जनताको सुसूचित हुने अधिकार कुण्ठित पारेको महासङ्घले जनाएको छ । सञ्चारकर्मीमाथि आक्रमण गर्नेसम्मको घटनाले मुलुकको कानून व्यवस्था र शान्ति सुरक्षाप्रति अनेकन प्रश्न खडा गरेको सचिव महतोले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यता, नेपाल प्रेस युनियनका महोत्तरी संयोजक रवीन्द्र उप्रेतीले पनि घटनाका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनुहुँदै जनताको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न र पेसाकर्मीहरूलाई निर्भिक भएर आफ्नो दायित्व निर्वाह गर्ने वातावरण मिलाई दिन विज्ञप्तिमार्फत आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button