प्रदेश सरकारलाई सहयोग गर्न मुख्यमन्त्री अधिकारीको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सङ्घीयता बलियो बनाउन प्रदेश सरकारलाई सबैले सहयोग गर्न आग्रह गर्नुभएको छ ।
प्रेस क्लब गण्डकीको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार जनताको माइलो सरकार केन्द्र र स्थानीय सरकारको चेपुवामा परेको बताउनुभयो ।
उहाँले प्रदेश सरकार जनताको सरकार भए पनि केन्द्रको दबाब रहेको बताउनुभयो । आम सञ्चार विधेयक कानुन बनाउनुपर्छ भन्ने पक्षमा आफु रहेको पनि बताउनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमानले समाजलाई जति सभ्य बनाउन सकियो त्यति नै पत्रकारिता पनि सभ्य हुने बताउनुभयो ।
पत्रकारितामा भुईँ मान्छेका समाचारहरू ल्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुहुँदै उहाँले निमुखा जनताको समाचार लेख्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका सदस्य विन्दुकुमार थापाले यो कार्यक्रमले सबै पार्टीका नेता कार्यकर्ताहरूलाई एकै ठाउँमा ल्याउने काम गरेको प्रति खुसी लागेको बताउनुभयो ।
उहाँले सूचनाको हक सम्बन्धी विधेयक पास गरेपछि मिडिया क्षेत्रमा र सरकारले सुशासन लागु गर्ने पक्षमा जोड दिने बताउनुभयो ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एक राज गिरीले क्लबले सबैको साझा फोरमका रुपमा रहेको बताउनुभयो ।
उहाँले पत्रकारिताले समाजका अन्य समस्याहरूको समाधानतर्फ पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुहुँदै पोखरामा क्रियाशील पत्रकारहरूले संस्थाको स्थापना गरेको बताउनुभयो ।
प्रेस क्लब गण्डकीको प्रथम अधिवेशनबाट अध्यक्षमा एकराज गिरी निर्वाचित हुनुभएको छ ।
पोखरामा आज सम्पन्न संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
यसैगरी संस्थाको उपाध्यक्षमा राजाराम पौडेल, सचिव गौरव त्रिपाठी, कोषाध्यक्ष राजु गिरी र सहसचिव दीपा पौडेल भण्डारी चयन हुनुभयो । कार्यसमितिको सदस्यहरूमा आशिष पुरी र सङ्कल्प ढुङ्गाना हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्