विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्दै रङ्गेली नगरपालिका
विराटनगर । मोरङको रङ्गेली नगरपालिकाले अति विपन्न घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । एकल महिला तथा समुदायमा पछाडि परेकालाई नगरपालिकाले आफ्नै बजेटमा स्वास्थ्य बिमा गर्न लागेको हो ।

रङ्गेली नगरपालिकामा ९ वटा वडा रहेका छन् । वडाका करिब १८ सय घर परिवारलाई लाग्ने बिमा शुल्क नगरपालिकाले बेहोर्ने गरी स्वास्थ्य बिमा गर्न लागेको नगरपालिकाका प्रमुख दिलीप वगडियाले बताउनुभयो ।
पालिकाको परिषद्को बैठकबाट निर्णय गरी बिमाका लागि बजेट व्यवस्थापन गर्दै त्यस्ता परिवारसँग निवेदन लिने काम भइरहेको पालिका प्रमुख वगडियाको भनाई छ । नगरवासीलाई शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गरेसँगै पहिलो चरणमा १८ सय परिवारलाई त्यसपछि सबै विपन्न परिवारलाई स्वास्थ्य बिमा गर्नै लक्ष्य रहेको उहाँले बताउनुभयो ।
पाँच परिवार बराबर ३५ सय रुपैयाँका दरले नगरपालिकाले बिमा गर्न लागेको हो । स्वास्थ्य बिमा गरेपछि बिमित परिवारले एक लाख बराबरको स्वास्थ्य सेवा तथा औषधी उपचार निःशुल्क पाउने छन् । पालिकामा रहेको रङ्गेली अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्