तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

विराटनगर ।  प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ । 

राष्ट्रपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश नं १ मा भने तत्काल राप्रपाले सरकार नछाड्ने भएको हो । 

राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश नं १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश नं १ को राजनीति विशिष्टीकृत छ, त्यसैले तत्काल सरकारबाट छाड्ने परिस्थिति बनेको छैन ।”

आज बेलुका पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो । 

प्रदेश नं १ प्रदेशसभामा राप्रपाका छ सदस्य छन् । राप्रपाले नेकपा (एमाले)सँग सहकार्य जारी रहने बताएको छ । एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सदस्य छन् । कूल ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य चाहिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button