तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिमा सर्वसम्मत हुँदा राम्रो हुन्छ : प्रधानमन्त्री दाहाल

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा सर्वसम्मत हुनु राम्रो हुने बताउनुभएको छ । 

गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा आज आयोजित बारपाक  सुलिकोट रनिङशिल्ड प्रतियोगिता समापन तथा सहिद बेपत्ता परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशमा धेरै राजनैतिक उतारचढाव भए । निर्वाचन लड्दै गर्दा जुन जुन राजनैतिक दलहरू मिलेर जनतामा भोट मागेका थियौँ, गर्दै जाँदा परिस्थिति नयाँ बन्यो र म प्रधानमन्त्री भिन्न तरिकाले भएँ र हिजो मात्रै राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठ राजनैतिक दल एक ठाउँमा भयौँ । नेकपा एमालेसँग पनि लगातार हाम्रो कुरा भइराखेको छ । हाम्रो कोसिस छ फागुन २५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मत होस् यदि हामीले भनेजस्तै भयो भने ज्यादै राम्रो हुन्छ ।”  

प्रधानमन्त्री दाहालले आफ्नो जीवनको बाँकी कार्यकाल सुशासन र विकासका लागि प्रयोग गर्ने बताउनुभयो । 

उहाँले आफू प्रधानमन्त्री भए लगतै अर्थतन्त्रमा सुधारका सङ्केत देखिएको  बताउनुभयो । 

एउटै कामका लागि तीन चार कमिटी वा संरचना छन् भने त्यसलाई घटाउने प्रक्रिया थालिएको उल्लेख गर्नुहुँदै उहाँले प्रधानमन्त्रीमा आफ्नो तेस्रो कार्यालय भएको र यसमा केही ठूला परियोजना, मेघा प्रोजेक्टमार्फत र केही भौतिक पूर्वाधार निर्माण तिर आफ्नो ध्यान रहेको बताउनुभयो ।  

“सबैको गुणात्मक सहयोगबाट देशमा सुशासन कायम हुन्छ र आउने पिँढीले पनि सम्झिरहनेछन्।”, उहाँले भन्नुभयो । 

नयाँ राजनैतिक यात्रा स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button