सेवा प्रभावकारी बनाउन परराष्ट्र मन्त्रीको निर्देशन
काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई त्यहाँबाट प्रदान गरिने सेवा थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाल बाहिर रहेका नेपालीहरूलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले दूतावासहरूलाई मित्र राष्ट्रहरूसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा उपस्थित भई नेपालको छविलाई उकास्न निर्देशन दिनुभयो ।

विश्वमा छरिएर रहेका नेपालीहरूको ज्ञान, सीप र क्षमताको पहिचान गरी आवश्यक पर्दा नेपालको विकासमा सदुपयोग गर्ने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।
श्रमका लागि विभिन्न देशमा पुगेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई समस्या आइपर्दा प्रभावकारी सेवा दिन दूतावासहरूमा २४ सै घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न उहाँले विशेष जोड दिनुभयो ।
नेपालीहरूले मुलुक बाहिर रहँदा कुनै पनि दुःख पाउन नहुने भन्नुहुँदै परराष्ट्र मन्त्री पौड्यालले उनीहरुलाई आपत् पर्दा तत्काल राहत र उद्धार गर्न कुनै कसर बाँकी नराख्न पनि उहाँहरूलाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्