तपाईँ सुन्दै हुनुहुन्छः

विश्व रेडियो दिवस : रेडियो नेपालमा एक अनुभूति  

‘रेडियोमा पहिलो पटक समाचार भन्दा मुटु एकातिर सास अर्कातिर जस्तो भयो’

घरमा बाबाआमा दुवै एकदमै रेडियो प्रेमी । सानैदेखि रेडियो सुनेरै हुर्किएको म । सानोमा यो रेडियोभित्र पसेर कसरी बोल्छन् होला ? भन्ने जिज्ञासामा आफु पनि बोल्न पाए जस्तो लाग्थ्यो । 

समयसँगै रेडियो मोह झन् झन् बढ्दै गयो । पत्रकारिता पढेपछि रेडियोमा बोल्न पाइन्छ भन्ने लागेर १२ कक्षामा पत्रकारितामा भर्ना भए । नेपालगञ्जमा पहिलोपटक आदर्श उच्च माध्यमिक विद्यालयले प्लस टुमा पत्रकारिताको अध्ययन सुरु गरेको थियो । सोही क्रममा प्रयोगात्मक प्रयोगका लागि समाचार लेख्न सिकियो भने स्थानीय रेडियोमा केही समय काम सिक्ने अवसर पनि पाएकी थिए । 

पछि स्नातक अध्ययनका लागि काठमाडौँ आएँ । स्नातक तथा स्नातकोत्तरमा पनि पत्रकारितामै भर्ना गरी अध्ययन गरेँ । २०७३ भदौमा रेडियो नेपालले रात्रिकालीन सेवाका लागि केही कर्मचारी आवश्यक सम्बन्धी विज्ञापन निस्केपछि रेडियोमा बोल्ने मेरा रहर पूरा हुन पुग्यो ।

आज पनि मेरो घरमा आमा उठ्ने बित्तिकै पहिला रेडियो नेपाल खोल्नुहुन्छ । रेडियोको आवाजसँगै मेरी आमाको दैनिकी सुरु हुन्छ । रेडियोमा बोल्ने मेरो मोह २०७३ कार्तिकमा पूरा भएको थियो । नेपालको पहिलो रेडियो, रेडियो नेपालमा समाचार वाचकका रुपमा काम गर्ने अवसर प्राप्त भयो । 

रात्रिकालीन सेवा अन्तर्गत राती पनि समाचार दिने नीति आएपछि रातीको ११ बजेबाट ड्युटी सुरु हुन्थ्यो । सबै जना निद्रादेवीको काखमा पुगिसकेका बेला म भने जागिरका लागि निस्कन्थे । सुरु–सुरुमा त रातिको १०–११ बजे हिँड्न डर पनि लाग्थ्यो तर एकातिर जागिर खानै पर्ने बाध्यता, अर्कोतिर रेडियो मोह ।

केही दिनको तालिम र सिकाइपछि बिस्तारै समाचार पढ्न अन एयर पठाउने कार्यालयको नियम रहेछ । कार्तिकको सुरुबाटै कार्यालय जान थाले पनि अन एयर भने भएको थिएन । सबैलाई नेपालीको दोस्रो ठूलो चाड तिहार लागिसकेको थियो । म भने तिहारमा घर जान नपाएकोमा मन खिन्न बनाउँदै ड्युटीका लागि निस्कन्थे । घरबाट निस्कँदा मलाई आज पनि अन एयर जान पाउँछु कि पाउँदिन भन्ने लाग्थ्यो ।  कार्तिकको १३ गते लक्ष्मी पूजाको रात । सारा नेपाली घरघरमा लक्ष्मी भित्राउन व्यस्त थिए, तर मलाई भने राति २ बजेको समाचार पढ्ने जिम्मा आएको थियो ।

समाचार बनाउने र रेकर्ड गरेर पढ्ने त गरिरहेकै थिए, तर प्रत्यक्ष प्रसारणमा भने गएकी थिइन । रहर थियो तर अवसर पाउँदा मन निकै डराएको थियो । त्यै पनि त्यसकै लागि जागिरमा आएपछि ढिलोचाँडो काम गर्नु त थियो नै । म तयारी अवस्थामा बसेँ । पहिलो दिन भएकाले स्टुडियो भित्र १० मिनेट अघि नै गएर बसेँ । प्राविधिक साथीसँग समन्वय गरेर म तयारी अवस्थामा थिए, तर मन भने पूरै डराएको थियो । बिस्तारै समाचारको ट्युन बज्यो टु…टु…टु……बजेपछि मैले “यो रेडियो नेपाल हो, राति २ बजेको समाचारमा स्वागत छ, म उमा शर्मा” भनेँ ।

बिस्तारै समाचारको उठान गर्दै समाचार मूल्य भएका सबै समाचारहरू पढेँ । पढ्न त पढेँ तर मेरो मुटु एकातिर, सास अर्कोतिर भएजस्तो भएको थियो डरले । खै किन त्यति सारो डर लागेको थियो थाहा थिएन, तर लागिरहेको थियो; अब सास रोकिन्छ । यसरी सुरुवात गरेको रेडियो पत्रकारिताको मेरो करिअर करिब ६ वर्षपछि रोकिएको छ ।

आज विश्व रेडियो दिवस, गत वर्ष आजकै दिन रेडियो नेपालमा ४ बजेको समाचार पढेको सम्झना आइरहेको छ । अन्तिम पटक यहीँ असोज १० गते दिउँसो १ बजेको समाचार पढेपछि रेडियोमा बोल्ने मेरो रहर अब सायद रहरमै सीमित हुने भएको छ । त्यसबेला गर्भवती भएकाले अन्तिम महिना चलिरहेको थियो । अन एयरमा समाचार पढ्न गाह्रो भएपछि केही समयका लागि समाचार पढ्न छोडेकी थिए । असोजको २३ गते सुत्केरी भएपछि केही समयका लागि रेडियोबाट विश्राम लिएकी थिए । तर कार्तिकमा राष्ट्रिय समाचार समितिमा स्थायी नियुक्ति पाएपछि रेडियोको मेरो यात्रामा हाललाई पूर्णविराम लागेको छ । 

रेडियोसँगको यात्रामा पूर्णविराम लागे पनि सञ्चारसँगको मेरो सहकार्य निरन्तर जारी छ, राससमार्फत । विश्व रेडियो दिवसको सम्पूर्ण रेडियो प्रेमीमा शुभकामना ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button