अब सबैको ध्यान आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धि हासिल गरी नागरिकलाई सुखी बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
संघीय संसद्को आज बसेको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भई नयाँ सरकार बनेपछि देशको राजनीतिले लय लिँदै गएको हुनाले अब सबैको ध्यान आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान गरी संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने दिशामा राज्यका सबै निकायहरू परिचालित हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल पनि अछुतो नरहेको हुनाले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने देखिएको पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले कृषि उत्पादन, ऊर्जा र पर्यटन क्षेत्रको विकासबाट सरकारले बढी फाइदा लिन सक्ने सम्भावना रहेकाले त्यसतर्फ विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले संविधान र कानूनले प्रत्याभूत गरे अनुरुप महिला विरुद्ध हुने सबै प्रकारका हिंसाहरू अझै अन्त्य हुन नसक्नुका कारण खोजिगरी कार्यान्वयन हुन नसकेका नीति तथा कार्यक्रमहरूको पुनरावलोकन गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले शिक्षित युवाको विदेश पलायन रोक्न उद्योग तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखी नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउने तथा सामूहिक खेती प्रणालीद्वारा कृषि क्षेत्रमा पूर्णकालीन रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, सूचना प्रविधिको विकास बाट देशलाई समुन्नत बनाउन सक्ने गरी विशेष कार्य योजनाका साथ देशको युवा जनशक्तिलाई परिचालन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता पनि राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा औँल्याउनुभयो ।
नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको हो ।
संविधानमा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन पछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन चलिरहेको हुनाले राष्ट्रपतिले आज सम्बोधन गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्