‘प्रदेश लोकसेवा आयोगले पारदर्शी र निष्पक्ष भएर काम गर्नुपर्छ’
मोरङ । प्रदेश नं १ का प्रमुख परशुराम खापुङ्गले लोकसेवा आयोगले पारदर्शी र निष्पक्ष रुपमा कर्मचारी छनौट गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिकोत्सवको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउन स्वच्छ, सबल र दक्ष प्रशासनको आवश्यकता रहेको बताउनुभयो । कर्मचारीतन्त्र भनेको स्थायी सरकार भएकाले यसलाई बलियो बनाउँदै लैजानु आवश्यक रहेको उहाँको भनाई थियो ।
प्रदेश नं १ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचना सम्बन्धमा जनताले महसुस गर्ने गरी कर्मचारीहरूले सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी पाँच वर्षभित्र कामको माध्यमबाट प्रदेशप्रति भएको आलोचनालाई जवाफ फर्काउने प्रयास गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरण छिट्टै टुङ्गो लगाउन सबै दलहरूसँग छलफल गरी सहमति कायम गर्ने बताउनुभयो ।
आयोगका अध्यक्ष उत्तमकुमार भट्टराई, सचिव बाबुराम खतिवडा, सदस्य टिकादत्त राई, उप सचिव तीर्थकुमार धितालले स्वच्छ, निष्पक्ष, पारदर्शी र समावेशितालाई अङ्गीकार गरी प्रतिस्पर्धीका आधारमा कर्मचारी छनौट गरिएको बताउनुभयो ।
आयोगले आर्थिक वर्ष २०७९/८० सम्ममा एक हजार ९२२ पदका लागि आव्हान गरेको विज्ञापनमा एक लाख ९६ हजार २५५ जनाले आवेदन दिएका छन् । आयोगले हालसम्म दश करोड ९८ लाख राजश्व सङ्कलन गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
सोही अवसरमा प्रदेश प्रमुख खापुङ्ग र मुख्यमन्त्री कार्कीले आयोगद्वारा प्रकाशित वार्षिक पुस्तकको विमोचन समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्