मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय आजै टुङ्गोमा पुग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय आजै टुङ्गोमा पुग्ने बताउनु भएको छ ।
भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा सो सहमति भएको भेटवार्ता सकेर बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँग मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय आजै टुङ्गोमा पुग्ने बताउनुभएको हो । साथै अन्य बाँकी विषयहरूमा विश्वासको मत दिने सबै दलहरूसँग भोलि बैठक बसी निर्णय गरिने समेत प्रधानमन्त्री दाहालले बताउनुभयो ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आजको छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको हाे । बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्छ ।”
सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, “विश्वासको मत दिने सबै पार्टीका नेताहरूसँग छलफल भइरहेको छ, काँग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ ।” सभामुखको निर्वाचनका बारेमा पनि भोलिको छलफलमा निष्कर्षमा पुगिने सङ्केत उहाँले गर्नुभयो ।
आजको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचन, आगामी रणनीति र शक्ति सन्तुलन मिलाउने बारेमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषय करिब सहमतिमा पुगेको पनि प्रधानमन्त्री दाहालले सङ्केत गर्नुभयो ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल गर्न आज प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओली निवास बालकोट पुग्नु भएको थियो ।
हिजो साँझ पनि उहाँहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सभामुखको निर्वाचन, नेपाली काँग्रेसले विश्वासको मत दिएपछिको सम्भावित परिणाम, प्रदेश सरकारलाई पूर्णता दिने लगायत मुलुकको समसामयिक राजनीतिका विषयमा भेटघाट र छलफल बाक्लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्