तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय चरा गणना : पाँच प्रजातिका चरा नभेटेपछि चराविद् चिन्तित 

चितवन । हरेक वर्ष देशभरि गणना गरिँदै आएको चरा गणना सकिएको छ ।  अघिल्लो आइतबारबाट चितवनमा गरिएको चरा गणना सकिएको छ । जनवरी ८ र ९ गते चितवनमा गरिएको चरा गणनामा पाँच प्रजातिको चरा नभेटिएको संरक्षणकर्मीले बताएका छन् । यो बर्ष पाँच प्रजातिका चरा नभेटिएपछि संरक्षणकर्मी, चराविद् चिन्तित भएका हुन्  । 

वातावरण तथा पानीमा  प्रदूषण तथा जलवायु परिवर्तनका कारण पानी आश्रित चराहरू घटेको उनीहरूको भनाई छ । 

चितवनमा वर्ड एजुकेशन सोसाइटीले चरा गणनाको संयोजन गरेको थियो  । लोथरबाट जिन्दगानीघाट, जिन्दगानीघाटबाट सौराहाघाट र सौराहाघाटदेखी कसरापुलसम्म तीन वटा अलग अलग टोली खटाएर एकैसाथ गणना गर्न लागिएको सोसाइटीका अध्यक्ष  टीकाराम गिरीले  जानकारी दिनुभयो  । 

निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिन्छ । त्यस्तै ढुङ्ग्रे खोला बुढी राप्ती, बिसहजारी ताल, माडीको रिउ खोलामा पनि गणना गरिएको छ  । समूहगत चरणमा जीप , डुङ्गा र पैदल गरी बाइनाकुलर, दुरविन टेलिस्कोपद्धारा चरा गणना गर्ने गरिन्छ ।

यस वर्षको चरा गणनामा पानीमा आश्रित पाँच प्रजातिका चरा नभेटिएको गिरीले बताउनु भयो । ‘गत वर्षहरू भन्दा अहिले पानीमा आश्रित पाँच प्रजातिका चरा घटेका छन् तर कुल सङ्ख्यामा भने कमी भएको छैन । ’उहाँले भन्नुभयो, तर यी चरा नदेखिनु चिन्ताको विषय हो ।’

गिरीका अनुसार सुनजुरी हाँस, कैलो टाउके, हलीमुख चरा, थारव , लालचुडे चखेवा यसबर्ष  नभेटिएको हो ।  खोलानाला प्रदूषण, मानवीय चाप, आहारा कमीका कारण पानीमा आश्रित चरा नभेटिएको उहाँको भनाई छ ।

चितवनमा गतसाल पानीमा आश्रित ५४ जातिको चरा भेटिएको र यो बर्ष ४९ जातिको चरा भेटिएको छ । गत साल १२ हजार ७७७ गणना गरिएको र अहिले १६ हजार १६५ चरा भेटिएको उहाँले जानकारी दिनुभयो । ‘आइतबार हामीले सार्वजनिक गरिएको तथ्याङ्कमा पानीमा ७हजार ४७५ र पाखामा  ८६९२ चरा गणना भएको छ ।’ उहाँले भन्नुभयो  ।  

विशेष गरी चराविद् ,संरक्षणकर्मी ,नेचर गाइड, चरा प्रेमीहरूको सहभागितामा चरा गणना गर्ने गरिन्छ । हिमालयन नेचर संस्थाको संयोजनमा देशभर चरा गणना गरिएको हो ।  

विश्वमा पानीमा आश्रित चराको अवस्था, चोरी शिकारी तथा चरी चरणको अवस्थाको बारेमा जानकारी हुने उद्देश्यले चरा गणना गरिँदै आएको छ । 

नेपाल पंक्षीविद संघका बागमती प्रदेश संयोजक बासु विडारीले गत वर्ष तुलनामा यो बर्ष घटेको कारण आफूहरू चिन्तित भएको बताउनु भयो  । ‘चखेवाहरूको सङ्ख्या चाहिँ बढ्यो तर अन्य पाँच प्रकारका चरा चाहिँ अहिले देखिएनन् ।’ उहाँले भन्नुभयो । 

ताल तलैया, खोला नदी सुकेका कारण नेपालमा मात्र नभई विश्वभरनै घटेको उहाँको भनाई छ । चराको प्रजाति र सङ्ख्या बढेसँगै अन्य जनावरहरूको सङ्ख्या  पनि बढ्ने सूचक हुने उहाँले बताउनु भयो  । 

चराको सङ्ख्या बढाउन खोलामा ढल, र कारखानाबाट निस्कने फोहोरहरू अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनु भयो । ‘ यसको सङ्ख्या बढाउन ग्लोबल वार्मिङ्ग, पानीमा प्रदूषण र ओभर फिसिङ्ग (माछा मार्ने) गर्नु भएन ।’ विडारीले भन्नुभयो  । पछिल्लो तथ्याङ्क अनुसार देशभर ८९२ प्रजातिका चरा र चितवनमा मात्रै ६५२ प्रजातिका चरा पाइन्छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button