तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

पर्वत । पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कँदै हुनुहुन्थ्यो । बाबाको जन्मघर, गाउँ घुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थे ।

तर उनीहरूको खुसी विमानबाट झर्न नपाउँदै विलय हुन पुग्यो । आइतबार काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उहाँको छोरा ४० वर्षीय युवराज शर्मा, नातिनी १३ वर्षीया आयुर्दी शर्मा र नाति चार वर्षीय बेवीन शर्माको निधन भएको छ ।

लामो समयदेखि गाउँ नआएका छोरा र नाति नातिनीसँग गाउँ फर्किँदा जमुना खुसी त हुनुहुन्थ्यो नै साथै उहाँले माइतीमा आफ्ना आमाबुवाको चौरासी पूजामा समेत जाने योजना बनाउनुभएको थियो । तर विमान दुर्घटनासँगै उहाँको सपना पनि अस्ताएको छ ।

जमुना आधा समय काठमाडौँ छोरासँग र आधा समय गाउँमा नै बस्ने गर्नुहुन्थ्यो । छोरा अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)मा आइटी अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो भने बुहारी सरु शर्मा त्रिभुवन विमानस्थलमा टावर कन्ट्रोलर अफिसरका रुपमा कार्यरत रहनुभएको उहाँका आफन्त विहादी गाउँपालिकाकी उपाध्यक्ष मिना तिवारीले जानकारी दिनुभयो । 

आफैँले टिकट काटेर श्रीमान्, छोरा, छोरी र सासूआमालाई घर पठाउनुभएकी सरुले आफूलाई सम्हाल्न नसकेर विक्षिप्त हुनुभएको छ । उहाँ यतिबेला अस्पतालमा भर्ना हुनुभएको छ ।

एकै परिवारका चार जनाको निधन भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको छ । गाउँमा रहेका आफन्त शव पहिचान गरी अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन् । विमान दुर्घटनामा परी पर्वतमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शर्मा परिवारका चार जना, पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कका पत्रकार त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उहाँको छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा नं १ पाङ्की रचना काफ्ले र उहाँका १० महिने छोरा रिहान पौडेल,  मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका  विजय गुरुङ रहनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button