काभ्रेका दुई पालिकामा सोमबारदेखि जगा कित्ताकाट हुने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका दुई पालिमा भाेलीदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।
जिल्ला मालपोत कार्यालय काभ्रेका अनुसार भोलि सोमबारबाट बनेपा र धुलिखेल नगरपालिका भित्रका जग्गाको कित्ताकाट खुल्न लागेको हो ।
मालपोत कार्यालय काभ्रेले एक सूचना जारी गर्दै भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेकोले जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरूबाट सिफारिस आएमा रजिष्ट्रेशन पास, बैक तथा वित्तीय संस्थाहरूको रोक्का, नामसारी दाखिला लगायत अन्य निवेदन सम्बन्धी सेवा प्रवाह गरिने जनाएको हो ।
मालपोत अधिकृत गंगा प्रसाद पोखरेलका अनुसार धुलिखेल र बनेपा नगरपालिकामा मात्रै कित्ताकाट हुनेछ । यी दुई पालिकामा जग्गा वर्गीकरण मिलेकाले कित्ताकाट खुल्ला गरिएको हो ।
मालपोत कार्यालयले काभ्रेका जग्गा वर्गीकरण सकाएका स्थानीय तहलाई पत्र समेत पठाएको जनाएको छ । घर बाटोको सिफारिसमा एकरूपता हुनुपर्ने भएका वडा तहबाटै निश्चित ढाँचाको फारम भरेर घर बाटो तथा जग्गा वर्गीकरण सिफारिस पठाइदिन मालपोत कार्यालयले अनुरोध गरेको छ ।
काभ्रेमा धुलिखेल र बनेपा नगरपालिका तथा चौर देउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मालपोत कार्यालयमा पठाएका थिए । चौर देउराली र खानीखोला गाउँपालिकाको भने वर्गीकरणमा समस्या देखिएकोले पुनः वर्गीकरणका लागि पठाइएको छ ।
अन्य पालिकाबाट भने अहिलेसम्म जग्गा वर्गीकरण भएका निवेदन मालपोत कार्यालयमा नपरेको मालपोत अधिकृत पोखरेल बताउनुभयो । ‘जग्गा वर्गीकरण भएका मध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाउन लागिएको हो । खानीखोला र चौर देउराली गाउँपालिकालाई पुनः वर्गीकरण गर्न भनेका छौँ । अन्य पालिकाबाट अहिलेसम्म वर्गीकरण भएको पत्र आएको छैन । वर्गीकरण भएर आउने बित्तिकै कित्ताकाट खुल्ने छ ।’ मालपोत अधिकृत पोखरेल बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्