तपाईँ सुन्दै हुनुहुन्छः

माघी पर्वले सहिष्णुता कायम राख्न सहयोग पुग्नेछ : अध्यक्ष तिमिल्सिना

file photo

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विभिन्न धार्मिक, पौराणिक तथा सांस्कृतिक महत्त्व बोकेको माघे सङ्क्रान्तिजस्ता चाडपर्वले आपसी सद्भाव तथा भ्रातृत्व स्थापित गरेको बताउनुभएको छ ।

माघे सङ्क्रान्ति/माघी पर्व २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको विश्वास व्यक्त गर्नुभएको छ । तसर्थ यस्ता किसिमका मौलिक चाडपर्व र संस्कृतिको जगेर्ना, संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गरी सामाजिक सद्भाव र एकताको सन्देश दिन सक्नुपर्ने उहाँको भनाइ छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा सांस्कृतिक विविधता र विशेषताले भरिएको अनुपम देश मानिने नेपाल विश्व समुदायमा आफ्नै मौलिक परम्परा र संस्कृतिको खानीका रूपमा परिचित रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले विविधतामा एकता हाम्रो साझा पहिचानको रूपमा रहेको बताउनुभएको छ । “थारू समुदायको महान्् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउँदै आएको माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति, किराँत येले संवत्को नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

आजको दिन तिलको लड्डु, घ्यू, चाकु बनाएर खाने, मकर स्नान, दान, पूजाअर्चना, शुभकामना आदान–प्रदान गरेर मनाउने गरिन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने पर्वलाई पनि विभिन्न भूगोल र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलनसमेत रहेको छ । यस पर्वलाई विशेषगरी मगर समुदायले माघे सङ्क्रान्ति, थारू समुदायले माघी पर्व, नेवार समुदायमा घ्य चाकु सँल्हु नामले तथा अन्य समुदायले मकर सङ्क्रान्तिका रूपमा मनाउँदै आइरहेको पाइन्छ ।

अर्कोतर्फ सूर्यको उत्तरी र दक्षिणी ध्रुवको अवस्थितिका आधारमा यसको गणना र मापन गरिन्छ । यो समयमा सूर्य उत्तरी गोलार्धतर्फ सर्दै जाने एवं धनुबाट मकर राशिमा प्रवेश गर्ने विश्वास गरिन्छ । यसैगरी प्रथम किराँत राजा यलम्बर हाङको स्मृतिमा यस दिनलाई किराँत येले संवत्को नयाँ वर्षका रूपमा पनि मनाइन्छ । “माघी, मकर सङ्क्रान्ति, माघे सङ्क्रान्ति र किराँत संवत्को नयाँ वर्षले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउँदै आपसी एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्न सहयोग पुग्नेछ विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु”, अध्यक्ष तिमिल्सिनाले भन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button