काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन घट्दै

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा केही वर्ष यता सुन्तला उत्पादन घट्दै गएको छ । जिल्लाको नमोवुद्ध, पनौती, शङ्खु, बल्थली, सारदाबतासे, कुशादेवी र खरिबोट लगायतका विभिन्न स्थान सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् ।
जिल्लामा वार्षिक ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रने गरेको पनि केही वर्ष भने उत्पादनमा निकै कमी हुँदै आएको छ।
पछिल्ला केही वर्षदेखि जिल्लामा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा कमी हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ । जिल्लामा यसवर्ष पनि दुई प्रतिशतले सुन्तला उत्पादनमा कमी हुने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रको बाली संरक्षण अधिकृत सरिता सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार रोग एवं कीराका कारण सात वर्षयता लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतको हाराहारीमा कमी हुँदै आएको छ । त्यसअघि जिल्लामा प्रतेयक वर्ष सात सय मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको थियो ।
विसं २०७२ को गोर्खा भूकम्पपछि निरन्तर सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । सुन्तलामा लाग्ने विभिन्न रोग तथा किरा नियन्त्रणमा किसान र कृषि ज्ञान केन्द्र कार्यालयबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको जनाइएको छ ।
यसैबीच विविध रोग तथा किराहरूले गर्दा सुन्तला उत्पादनमा आएको कमीका कारण जिल्लाका किसान चिन्तित देखिन्छन् । काभ्रेपलाञ्चोकको मुख्य सुन्तला उत्पादनको पकेट क्षेत्र पनौती कुशादेबीका कृषक उद्धब चापागाईँले सुन्तला उत्पादनमा कमी हुँदै गएपछि अब सुन्तला बगैँचा फाँड्नुको विकल्प नभएको बताउनुभयो ।
त्यस्तै धुलिखेल नगरपालिका वडा नं १० शङ्खुका किसान शिवप्रसाद आचार्यले सुन्तलाको उत्पादनमा कमी आएपछि अब यहाँका कृषकहरूले आय स्रोतको अरू विकल्प खोज्नुपर्ने बाध्यता हुँदै गएको बताउनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप समेत देखिएको छ । यसका कारण बोटमा रहेका सुन्तलामध्ये बगैँचामामै दश प्रतिशत कुहिएर बोटबाट भुईँमा झर्ने गरेको स्थानीय कृषकहरूले बताएका छन् ।
जिल्लाभर समस्याकै रुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियन्त्रण गर्न एक/दुई जना किसानले मात्रै प्रयास गरेर सम्भव नहुने भएकाले सुन्तलाको फल कुहिएर झर्ने समस्या समाधान गर्न सबै जना सम्बन्धित निकायका व्यक्तिहरू समेत अभियानकै रुपमा लाग्नुपर्ने आवश्यकता देखिन्छ ।

जिल्लामा सुन्तलाजन्य उत्पादन जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत अमिलो जातका फलफूलमा यो रोगको सङ्क्रमण फैलिए पछि रोग सङ्क्रमित भएर बोटबाट झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा बढेको छ । यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने भएकाले झरेका फललाई व्यवस्थित रूपले व्यवस्थापन गर्न आवश्यक रहेको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक रुपमा खेती हुँदै आएको छ । जिल्लामा वार्षिक ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रिने गरेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्