सोलुखुम्बुमा जुस तथा जाम बनाउने तालिम लिएसँगै किसान उत्साही
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जाम र चक्लेट बनाउने तालिम लिनुभएकाे छ ।
यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको उहाँले बताउनुभएकाे हाे । अब सरकारले आवश्यक सहयोग गरेमा उद्यमी भएर आयआर्जन गर्न सकिने उहाँकाे तर्क छ । अर्का सहभागी राजकुमारी राईले नयाँ तथा समय सान्दर्भिक तालिम सञ्चालन भएको भन्दै अपेक्षा गरेको भन्दा फरक तर प्रभावकारी तालिम सञ्चालन हुनु देउसावासीको लागि खुशीको कुरा भएको बताउनुभयो ।
नेपाल कृषि प्रधान देश भनिए पनि यहाँको स्रोत साधनको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता तालिमले स्वरोजगार बन्न समेत सहयोग पुग्ने सहभागीहरुको भनाइ छ । ७ दिनसम्म सञ्चालन भएको तालिममा ३५ जना कृषकको सहभागिता रहेको थियो । तालिम घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालयको समन्वयमा भएको हो। यस क्षेत्रमा सुन्तला धेरै फल्ने गरेको छ । तर बजारमा राम्रो भाउ नपाउने समस्या रहेको छ । यहाँ पछिल्लो समय कीवीको व्यवसायिक खेती पनि बढिरहेकाले यो तालिम महत्वपूर्ण हुने स्थानीय बताउँछन् ।
गाउँपालिका उपाध्यक्ष सबिता राईले तालिम लिनु मात्र ठूलो कुरा नभई यसलाई व्यवहारमा प्रयोग गर्दै रोजगार सिर्जना गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सीप बिना कुनैपनि उद्यम तथा रोजगार सिर्जना नहुने भएकाले कार्यक्रम आयोजना गर्ने कार्यालयलाई विशेष धन्यवाद समेत दिनुभयो।
रोजगारी सिर्जनाको लागि उद्यम आवश्यक भएकाले तालिम आयोजना गरिएको वडा अध्यक्ष भोजराज कार्कीले बताउनुभयो। अध्यक्ष कार्कीले यस वर्ष आवश्यक प्रक्रिया पूरा गरी सहभागीलाई उद्यमी बनाउने बताउनुभयो । घरेलु तथा उद्योग विकास अधिकृत संगिता राईले वडाको माग अनुसार कार्यक्रम सञ्चालन गरेको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । प्रशिक्षक खेतराज कार्की र मनमाया राईले तालिमको सहजीकरण गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्