तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक अण्डाबाट मनग्य आम्दानी गर्दै श्रेष्ठ 

सल्यान । जिल्लाका धेरैजसो युवाहहरु रोजगारीका लागि विदेश पलायन हुने लहर नै चलेको छ । स्वदेशमा रोजगारी नपाएको र स्वरोजगार बन्ने वातावरण समेत नभएको भन्दै धेरै युवायुवतीहरू विदेशमा पैसासँग श्रम पसिना साटी रहेका छन् । तर सल्यानका त्रिवेणी गाउँपालिका ६ लुहामका ४६ वर्षीय अर्जुन श्रेष्ठले भने कुखुराको अण्डा बिक्री गरेर स्वदेशमै मनग्य आम्दानी गर्दै आइरहनु भएको छ । 

व्यावसायिक अण्डा उत्पादन गर्दै आउनु भएका श्रेष्ठले दैनिक १० हजार बढी आम्दानी गर्दै आउनु भएको छ । लेर्यस जातका कुखुरा पालन गर्नु भएका श्रेष्ठले दैनिक २६ क्यारेट अण्डा उत्पादन गर्दै आउनु भएको छ । प्रति क्यारेट ४०० सयका दरले बिक्री वितरण भइरहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘अहिले मसँग लेर्यस जातका झन्डै १ हजार कुखुरा छन् जसमध्ये अधिकांशले अण्डा दिँदै आइरहेका छन् । ती कुखुराबाट दैनिक २६ क्यारेट अण्डा उत्पादन हुँदै आइरहेको छ ।’ 

जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरी रहेको बताउँदै उहाँले अहिले मासिक ३ लाख १२ हजार बराबर आम्दानी भइरहेको बताउनु भयो । विगत ७ वर्षदेखि व्यावसायिक अण्डा उत्पादन गर्दै आउनु भएका उहाँले बजारीकरणको खासै समस्या नभएको बताउनु भयो । बाह्रय जिल्लाबाट आएको अण्डासँग प्रतिस्पर्धा गर्नु पर्दा केही समस्या भएपनि आज बिक्री भएन भन्नु नपरेको बताउनु भयो । उहाँले भन्नु भयो ‘चल्ला राखेको मितिले २० सातापछि अण्डा दिनु सुरु गर्छ । १८ महिनासम्म निरन्तर अण्डा दिइरहन्छ । त्यसपछि कुखुरा बिक्री गर्नु पर्दछ ।’ 

अण्डा उत्पादन गर्ने कुखुरा पाल्नका लागि त्यति सजिलो नभएको उहाँको अनुभव छ । जति गाह्रो भएपनि आम्दानीको पैसा हातमा पर्दा खुसी लाग्ने गरेको बताउनु भयो । 

गाउँपालिकाले युवालाई लक्षित गरेर विभिन्न खाले सहयोग गरिएको जनाएको छ । गाउँपालिका भित्रका युवाहरूमा कृषि प्रतिको मोह बढेको त्रिवेणी गाउँपालिका पशुसेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो । पालिकाले किसानलाई प्रविधि सहयोगसँगै अनुदानको पनि व्यवस्था गरेको उहाँको भनाई छ । स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाका धेरै युवाहरूमा कृषिप्रतिको मोह बढ्दै गएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button