मधेश प्रदेशमा काँग्रेसको संसदीय दलका नेता छान्न निर्वाचन समिति

जनकपुरधाम । नेपाली काँग्रेसले मधेश प्रदेशको संसदीय दलको नेताको चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।
नेपाली काँग्रेस मधेश प्रदेश समितिको हिजो बसेको बैठकले दलको नेता चयन गर्न प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यद्वयमा महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सह–महामन्त्री विन्दु कुमारी यादव रहेको काँग्रेसका मधेश प्रचार प्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिनु भएको छ ।
काँग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरेको नेपाली काँग्रेस मधेश प्रदेश समितिले जानकारी दिएको छ । निर्वाचन समितिले केही दिन भित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल गर्ने र सर्वसम्मत नभएको खण्डमा निर्वाचन प्रक्रिया अपनाउने समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिनु भयो ।
दलको नेताको लागि काँग्रेसका प्रदेश सभापति एवं रौतहट निर्वाचन क्षेत्र नंं १ को ख वाट प्रदेश निर्वाचित कृष्ण प्रसाद यादव, निवर्तमान संसदीय दलका नेता धनुषा निर्वाचन क्षेत्र नंं ३ को १ को नवनिर्वाचित सांसद रामसरोज यादव, प्रदेश सरकारका निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री एवं सर्लाहीबाट नवनिर्वाचित प्रदेश सभा सदस्य विरेन्द्र सिंह र जनार्दन क्षेत्रीले दावेदारी गर्दै आउनु भएको छ ।
बैठकले मधेश प्रदेशमा काँग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्नका लागि केन्द्रीय नेतृत्वसँग समन्वय गरि गठबन्धनमा रहेका दलहरू लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय समेत गरेको छ । जसको लागि प्रदेश सभापति कृष्णा यादवलाई जिम्मेवारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्