तपाईँ सुन्दै हुनुहुन्छः

देउवालाई पहिलो प्रधानमन्त्री बनाउन प्रकाशमानको प्रस्ताव, आफै हुनुपर्ने अडानमा प्रचण्ड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दिनुभएको समयसीमा सकिन दुई दिन बाँकी छदाँ दलहरू सरकार गठनका लागि गृहकार्यमा लागेका छन् ।

यसैक्रममा आज बिहान नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न आग्रह गर्नुभयो ।

नेता सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार, नेता सिंहले सरकारको कार्यकाल बाँड्ने र पहिलो प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन गर्न सघाउन आग्रह गर्नुभएको थियो । साथै, नेता सिंहले अन्य राजकीय पदहरूमा शक्तिको बाँडफाँट गर्न पनि अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव गर्नुभएको थियो ।

तर अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको सरकारको नेतृत्व काँग्रेसले गरेकोले अब बन्ने सरकारको पहिलो नेतृत्व आफूले गर्न पाउनुपर्ने भनाई राखेको कांग्रेस नेता सिंहका स्वकीय सचिव लामिछानेले रेडियो नेपाललाई बताउनुभयो ।

प्रचण्डसँगको भेटपछि बालुवाटार पुगेर नेता सिंहले प्रचण्डसँग भएको कुराकानी बारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनु भएको थियो । 

सरकार गठनकै सिलसिलामा हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button