पाँच पोखरीमा जलवायु सम्मेलन सम्पन्न, ११ बुँदे घोषणापत्र जारी
सिन्धुपाल्चोक । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सबै सचेत र सजग रहनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । विगतमा पनि विभिन्न विपद्का घटनाहरू हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको भनाई छ ।

जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्युनिकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । “हामी नरहे पनि प्रकृति रहन्छ तर प्रकृति नरहे हामी रहन्नौँ” भन्ने नारा दिएर गरिएको सम्मेलनले ११ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।

पर्यटकीय स्थल नागिथाम डाँडामा गरिएको सम्मेलनमा लामटाङ राष्ट्रिय निकुञ्जका चिफ वार्डेन प्रमोद भट्टराई, जिल्ला डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक कार्यालय प्रमुख पुनलाल चौरासिया, गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका पूर्व प्रमुख डम्बर अर्याल लगायतले जलवायु परिवर्तन, यसले गरेका असर र मानव समुदायले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्नो प्रस्तुती दिनुभएको थियो ।
सम्मेलनले गाउँपालिका क्षेत्रमा आउन सक्ने सम्भावित विपद् जोखिमको पूर्व मूल्याङ्कन गरी आवश्यक तयारीमा विशेष जोड दिइने, विपद् जोखिम सचेतना कार्यक्रमलाई प्रभावकारी बनाई विपद्को समयमा शीघ्र उद्धार, राहात, पुनर्निर्माण तथा पुनर्स्थापना खातिर गाउँपालिका स्तरीय संयन्त्रलाई चुस्त दुरुस्त र श्रोत साधन सम्पन्न बनाइने, गाउँपालिका भित्र रहेका सामुदायिक तथा कवुलियति वनहरूको संस्थागत विकासमा जोड दिई वन क्षेत्रको विस्तार गरी हरियाली प्रवर्द्धन जोड दिइने सम्मेलन पश्चात् जारी गरिएको घोषणा पत्रमा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

जनप्रतिनिधि, लाङटाङ राष्ट्रिय निकुञ्जका होटल होमस्टे व्यवसायी, सामुदायिक बनका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थितिमा धार्मिक तथा पर्यटकीय स्थल नागी थामडाँडामा भएको कार्यक्रममा सहभागीहरूले घोषणा पत्रमा हस्ताक्षर गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक कार्यालय प्रमुख पुनलाल चौरासियाले विकास निर्माणका कार्यले वनजङ्गल तथा जलवायुमा प्रत्यक्ष असर परेको र जस्ले गर्दा विपद्का घटना घटिरहेको उल्लेख गर्दै यसको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकासँगै लामटाङ राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, आर्सो नेपाल र टिजिएच नेपालको साझा सहकार्यमा सम्मेलन भएको हो ।







प्रतिक्रिया राख्नुहोस्