रासायनिक मलबारे नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महतोको चासो
जनकपुरधाम । हिउँदे बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा भएको मलको वितरणमा गुनासो बढेपछि नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जुली कुमारी महतोले कृषि सामाग्री कम्पनी लिमिटेडको गोदामको अनुगमन गर्नुभएको छ ।

नेपाल सरकारले प्रदान गरेको अनुदानको रकमबाट विदेशबाट खरिद भएको मल वितरणका लागि विभिन्न डिलरहरूमा मल गइरहेको बेलामा एमालेका नेतृ एवं पूर्वमन्त्री महतोले जनकपुरधाममा रहेको गोदामको अनुगमन गरेर कार्यालयसँग वास्तविक अवस्थाको बारेमा बुझ्नुभएको छ ।
महतोले रासायनिक मलको आपूर्तिको अवस्था तथा किसानबाट माग भएको विषयमा जानकारी लिँदै मलको सहज आपूर्तिका लागि कति मल आवश्यक रहन्छ त्यस विषयमा लिखित रुपमा नै जानकारी गराउन कार्यालय प्रमुख रवि कुमार केसरीसँग आग्रह गर्नुभयो ।

अनुगमनपछि प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले सकभर किसानको माग अनुसार मलको आपूर्तिका लागि प्रयास गर्ने बताउनुभयो । उहाँले प्राप्त भएको मल दामासाहीको आधारमा सबै किसानलाई उपलब्ध गराउने गरी संयन्त्र परिचालन गर्नका लागि कार्यालय प्रमुखसँग आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्