तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ भाडादर निर्धारण गरे पनि कार्यान्वयन नहुँदा यात्रुहरू मर्कामा

अछाम । अछाम जिल्लाका ग्रामीण सडकदेखि कालोपत्रे सडकखण्डमा निर्धारित भाडा लागु नहुँदा यात्रुहरू मर्कामा परेका छन् । 

जिल्ला प्रशासन कार्यालय अछामले नयाँ भाडादर निर्धारण गरे पनि कार्यान्वयन नहुँदा यात्रुहरू मर्कामा परेका हुन् । 

जिल्ला प्रशासन कार्यालय अछामले कच्ची सडकदेखि पक्की सडक खण्डको फरक फरक भाडादर निर्धारण गरे पनि बस, जिप र अटो लगायतका व्यवसायीले मनोमानी भाडा असुल गर्ने गरिरहेको यात्रुको गुनासो छ । 

जिल्ला सदरमुकाम मङ्गलसेन तथा अन्य विभिन्न व्यापारिक केन्द्रदेखि बजार तथा ग्रामीण क्षेत्रमा चल्ने सडकमा फरक फरक भाडादर कायम गरिएको छ । तर व्यवसायीले मनलाग्दी भाडा असुल्ने गरेका यहाँका नागरिकहरूको गुनासो छ । 

जिल्ला प्रशासन कार्यालय अछामले पक्की सडकमा प्रतिकिलोमिटर ७ दशमलव ५ रूपैँया, यस्तै, ग्राभेल सडकमा प्रतिकिलोमिटर ९ रूपैँया र कच्ची सडकमा प्रति किलोमिटर १२ रूपैया लिन पाउने गरी भाडादर निर्धारण गरे पनि लागु नहुँदा यात्रु ठगिने गरेको नागरिकले दुखेसो गर्ने गरेका छन् । 

चालक व्यावसायीहरुले तोकिएको भन्दा दोब्बरदेखि तेब्बरसम्म भाडा असुल्ने गरिरहेका छन् । 

ठुलासेनदेखि मङ्गलसेनसम्म पक्की सडक करिब ७ किलोमिटर सडकमा १ सय ५० रुपैयाँसम्म भाडा लिने गरिएको छ । नयाँ भाडादर अनुसार उक्त खण्डको भाडा करिब ५३ रुपैयाँ हुन्छ । यसबाट यात्रु ठगिएका छन् । 

यस विषयमा जिल्ला प्रशासन, ट्राफिक कार्यालय लगायतका निकायहरूले अनुगमन लगायतको कार्यमा चासो नदिएको नागरिकको गुनासो छ । यस विषयमा अछामका सञ्चारकर्मीले आज प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख लगायतसँग कुरा राखेका छन् । 

पत्रकार शिवराज ढुङ्गानाले आफु साँफेबगरबाट मङ्गलसेन बसमा आउँदा ३ सय रुपैयाँ मागेको तर प्रतिवाद गरेर आफूले २५० रुपैयाँ दिए पनि अरू यात्रुसँग ३ सय नै असुल गरेको बताउनुभयो । 

यस विषयमा सरोकारवालासँग थप छलफल गर्ने तथा नियमन गर्ने प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डे तथा डिएसपी नारायण डाँगीको भनाई छ । यात्रुहरू समेत सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button