१ सय १३ वर्षीया महिला जसलाई सबै चुनावमा भोट हालेको अनुभव छ

बैतडी । बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३ वर्षको उमेरमा मतदान गर्नुभयो । उहाँले यसअघिका अधिकांश चुनावमा मतदान गर्नुभएको छ ।
२०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्ष पुग्नुभएको थियो । उहाँले त्यसयताका सबै चुनावमा भोट हालेको बताउनुभयो । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुनावका बेला चर्चामा आउने पात्र हुन् । उहाँले यसपालि छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूत विद्यालयस्थित मतदान स्थलमा मतदान गर्नुभएको हो ।

१ सय १३ वर्षको उमेरमा मतदान गरेकी मानमती देवीलाई अझै विकास निर्माण भएको हेर्ने रहर छ । उहाँले भन्नुभयो ‘म किशोरावस्थामा भारतको लोहाघाट बाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जीवन कटाएका व्यक्ति हौँ अहिले घरघरमा विजुलीबत्ति पुगेको छ । ओखल–जाँतो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’
ठाउँ ठाउँमा स्कुल खुलेको र स्वास्थ्य सस्थाहरु स्थापना भएको कुरा सुनाउँदै उहाँले भन्नुभयो ‘मेरो जेठो छोरा अहिले ७० वर्ष पुगे तर उ भन्दा अघिका ३ छोराको बाल मृत्यु भएको थियो, तर अहिले हुदैँन् । सबै क्षेत्रमा विकास भएको छ, अझै केही बर्ष बाचेमा बढी विकास निर्माण हेर्न पाउँथेँ ।’ बैतडी र डडेल्धुरामा समेत घर भएकी मानमतीले बैतडी देखि डडेल्धुरा बैतडी देखी धनगढी २देखी ५ दिनको पैदल यात्रा गरेको समेत सुनाउनुभयो । तीव्र विकास देख्दा उनलाई अझै केही बर्ष बाँचे हुन्थ्यो जस्तो लाग्दछ ।

मानमतिका ४ छोरा २ छोरी, १ दर्जन बढी नाति–नातिना तथा पनाति–पनातीना छन् । उहाँले छोरीहरूलाई कक्षा ७ सम्म पढाइन् भने, छोरा डिग्री पास र २छोरालाई एसएलसी पास गराएकी हुन् । उनका माइला छोरा सिद्धराज यसअघि जिल्ला समन्वय समिति बैतडीका प्रमुख बनेका थिए । ४ छोरा मध्ये ३छोरा राजनीतिमै आबद्ध छन् । उनीहरू नेपाली काँग्रेस पार्टीबाट विभिन्न भूमिकामा रहेका छन् ।
मानमती को उमेर धेरै भएपनि उनी १ सय बर्ष नकटेको वृद्ध जस्तो देखिन्छिन् । अहिले समेत उनी खाना पकाउने देखी घरायसी सबै कामहरू गर्न सक्षम छिन् ।
बैतडीमा आइतबार भएको मतदानमा प्रतिनिधिसभामा नेकपा एमाले उम्मेदवार दामोदर भण्डारी र सत्ता गठबन्धनका माओवादी नेता नरेन्द्र कुवर बीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । जिल्लामा स्वतन्त्र समेत गरेर ११ जना उम्मेदवार छन् । यसैगरी प्रदेशसभा तर्फ समेत एमाले र गठबन्धन बीच तथा प्रदेश (क)मा स्वतन्त्र व्यक्ति समेत प्रतिस्पर्धामा देखिने आकलन गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्