तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा दिउँसो २ बजेसम्म ४५ प्रतिशत मत खस्यो 

Exif_JPEG_420

कञ्चनपुर । कञ्चनपुरका सबै मतदान केन्द्रहरूमा मतदान कार्य जारी रहेको छ । आइतबार बिहान ७ बजेदेखि भइरहेको प्रतिनिधि सभा सदस्य  तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्यक्रम कञ्चनपुरका १ सय ३२ मतदान स्थलमा रहेका ३ सय ४६ मतदान केन्द्रहरूमा जारी रहेको बताइएको छ । दिउँसो २ बजेसम्म कञ्चनपुरमा औसत ४५ प्रतिशत जति मत खसेको छ । मतदान कार्यक्रम साँझ पाँच बजेसम्म जारी रहने छ । 

मतदान केन्द्रमा पुगेका मतदाताहरू मतदानका लागि उत्साहित देखिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा नाका समेत बन्द गरिएको छ । कञ्चनपुरको दक्षिणी र पश्चिमी सीमा भारतसँग जोडिएको छ । 

नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचनको सुरक्षार्थ परिचालन भएका छन् । निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिएको छ । मतदाताले सुरक्षित वातावरणमा ढुक्कसँग मतदान गर्न सक्ने गरी सुरक्षा व्यवस्था समेत कडा पारिएको कञ्चनपुर प्रशासनले जनाएको छ । 

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरका कुल ३ लाख २ हजार ५ सय ९ मतदाता मतदान गर्न योग्य छन् । कञ्चनपुर जिल्लामा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button