तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकमा आर्थिक विकास आवश्यक : मन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा आर्थिक विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा आयोजित नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को चुनावी सभालाई सम्बाेधन गर्नुहुँदै मन्त्री कार्कीले आर्थिक विकास भएमात्र मुलुक समृद्धितर्फ अग्रसर हुने बताउनुभयाे ।

सुनसरी क्षेत्र नम्बर–४ बाट लोकतान्त्रि वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले यस क्षेत्रको समग्र विकासका लागि आफू लागिपर्ने बताउनुभयाे ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएका कार्कीले जनतासँग गरेको प्रतिबद्धता ८० प्रतिशत पूरा गरिसकेकाे बताउनुहुँदै आगामी दिनमा पाँच गुणा बढी विकास गर्ने बताउनुभयाे ।

गुणस्तरीय शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित हुने र विकास निर्माण कार्यहरूलाई पनि प्राथमिकता दिने उहाँले बताउनुभयो । बाढी र डुबानको समस्या, सिँचाइ, सुकुम्बासी समस्या, कोशी टप्पु वन्यजन्तु आरक्ष पीडितका समस्यालाई सदाका लागि अन्त्य हुने गरी काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेसभित्र कुनै विभेद र विवाद नभएको स्पष्ट पार्नुहुँदै आफूहरू एकढिक्का भएर निर्वाचनमा होमिएको बताउनुभयो । मोरङ निर्वाचन क्षेत्र नम्बर–६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका कोइरालाले लोकतान्त्रिक वाम गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा, सुशासन, गणतन्त्र तथा संघीयतालाई बलियो बनाउने र देशको विकासका साथै नागरिकताकाे समस्या समाधानका लागि काम गर्ने बताउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को चुनावी सभालाई सम्बाेधन गर्नुहुँदै नेकपा एसका केन्द्रीय सदस्य महफुज अन्सारीले सुकुम्बासी समस्या समाधान गर्न सत्ता गठबन्धनले काम गर्ने बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button