सञ्चार सचिव अर्यालद्वारा सञ्चार ग्रामको निरीक्षण
विराटनगर । विराटनगर महानगरपालिका ४ स्थित ताराणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामको आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल तथा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले अनुगमन र निरीक्षण गर्नुभएको छ ।

अनुगमन एवं निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा सञ्चार ग्रामको हालसम्मको प्रगतिबारे समीक्षा गरिएको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले हालसम्म बाँकी रहेका काम चाँडै सम्पन्न गरी सञ्चार ग्रामबाट दिइने सेवालाई व्यवहारमा उतार्न निर्देशन दिनुभयो । सञ्चार ग्राम प्रदेश नं. १ कै सूचना प्रविधिको हब भएकाले यसलाई पूर्ण रूपले सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सञ्चार ग्रामको उद्देश्य अनुरुप हुने सबै प्रकारका क्रियाकलाप सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सञ्चार ग्रामलाई यथाशीघ्र पूर्ण रूपले सञ्चालनमा ल्याउने गरी निरन्तर रुपमा काम भइरहेको बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरपालिका र रेडियो नेपालबिच भएको समझदारीलाई यथाशीघ्र कार्यान्वयन गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव उत्तरकुमार खत्री र मन्त्रालयका उप–सचिव सुरेन्द्र बहादुर थापाले सञ्चार ग्रामको स्थापनाले यस क्षेत्रको थप महत्त्व बढाएको बताउनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले सञ्चार ग्राममा अहिलेसम्म भएका कामको प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
६ कट्ठा १८ धुर जग्गामा निमार्ण गरिएको सञ्चार ग्रामबाट ताराणी प्रसाद कोइरालाको वृत्तचित्र निमार्ण गर्ने तथा इ लाइब्रेरी, मिट द प्रेस साथै प्रदेश न १ को संस्कृति साहित्य कला, गीत सङ्गीतको विकास, गीत रेकर्डिङ साथै सञ्चारकर्मीका क्षमता अभिवृद्धि गर्ने र रेडियो नेपालको प्रसारण सेवालाई थप व्यावसायिक र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।
सञ्चार ग्राम सञ्चालनका लागि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रेडियो नेपाल तथा विराटनगर महानगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन गर्न निर्देशिका समेत जारी भइसकेको छ ।

यस अघि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल तथा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सुनसरीको धरानमा रहेको रेडियो नेपाल प्रसार केन्द्र तथा धनकुटाको भेडेटारमा रहेको रेडियो नेपालको एफएम टावर स्टेसनको पनि निरीक्षण, अनुगमन गर्दै त्यहाँबाट हुने प्रसारणको बारेमा जानकारी लिनुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्